डायना चियाबारीमा हात्तीको बढ्दो उपद्र्वले मानिसहरू चिन्तित। हात्तीले डायना चियाबारीका पुजारी ओमप्रकाश तिवारीको घर पारिदियो क्षतिग्रस्त। हात्तीले घर, फसलहरू नष्ट पारिरहेको जनगुनासो। डुवर्स क्षेत्रमा हात्तीको बढ्दो उपद्रवले साधारण मानिसहरु चिन्तित बनेका छन्। बानरहाट प्रखण्डको एक मात्र बन्द चियाबारी अहिले जङ्गलतुल्य बनेको छ। यहाँ विभिन्न वन्यजन्तुहरुको डेरा बनेको छ। दिनभरि चियाबारीको झाड़ीमा बसेको हात्तीको बथान रात पर्नासाथ दिनहुँ गाउँमा पसेर उपद्रव गर्दै घर, फसलहरु नष्ट गरिरहेको छ। बुधवार राति लगभग १२ बजी एक हुल हात्तीको बथान सोही चियाबारीको जङ्गलबाट डायना चियाबारीमा पुगी एउटा घरलाई क्षतिग्रस्त पारिदिएको छ। डायना चियाबारीका पुजारी ओमप्रकाश तिवारीको घरमा पाँचवटा हात्तीको हुल पसेर पहिले घरको खिड्की फुटाई केही फलफूल खाइदिएको अनि पछि सोझै हात्तीले घरको मूल दैलोलाई फुटाएर घरभित्र पसेको स्थानीय मानिसहरूले बताए। पुजारीका परिवारले हात्ती आएको सुइँको पाउनासाथ खिड्कीबाट भागेर आफ्नो ज्यान बचाए। हात्तीले घरभित्र राखिएका चामल, दाल, आँटा फलफूल सबै खाइदियो भने घरभित्र रहेको फ्यान, मिक्सी, ग्यास चुल्हा लगायत आवश्यक कागज-पत्रहरु क्षतविक्षत पारिदिएको देखियो।