• Wed. May 14th, 2025

डुवर्स एक्सप्रेस: डुवर्सका पाँच मुख्य खबर

Byadmin

Sep 18, 2021

  • प्रतिस्पर्धामा पहिलो स्थान ओगट्न सफल बनेकी बाग्राकोटकी छोरी सोनी लकान्द्रीलाई प्रमाण-पत्रसहित पुरस्कार प्रदान गर्न डुवर्स नारी संगठन हुमेन्स फोरम टोली पुग्यो तिनको घर।
  • वानरहाट मगलकट्टा चियाबारीमा गणेश पूजा समारोहसितै सामूहिक विवाह सम्पन्न। कार्यक्रममा मुख्य अतिथि थिए मन्त्री बुलुचिक बड़ाइक। मोठ 15 जोड़ीको विवाह गरिएको आयोजक कमिटीले दियो जानकारी।
  • नगरकट्टा ब्लक तृणमूल कंग्रेसको कर्मी सभा आयोजित। सभामा राज्यका आदिवासी मन्त्री बुलुचिक बड़ाइक अनि जलपाइगढ़ी पार्टी जिल्ला सभापति महुआ गोपको थियो विशेष उपस्थिति। पार्टीमा कुनै पनि प्रकारको गूटबाजी नगर्ने कर्मीहरूलाई दिइयो निर्देश।
  • दिव्याङ् लिटन दासलाई टीएमसी कालचिनी ब्लक सभापति पासङ लामाद्वारा 15 हजार रुपियाँ प्रदान। यसअघि लामाले लिटनलाई प्रदान गरेका थिए ह्विल चेयर।
  • भाजपामा गयो पैह्रो। अठियाबारी चियाकमानमा प्रायः 500 भाजपा समर्थकहरू तृणमूलमा भए सामेल। कार्यक्रममा मानिसहरूलाई वितरण गरियो तारपोलिन।
    अब खबर विस्तारमा…….

1.
डुवर्स नारी संगठन हुमेन्स फोरमद्वारा राखिएको प्रतिस्पर्धामा प्रथम स्थान ओगट्न सफल बनेकी बाग्राकोटकी छोरी सोनी लकान्द्रीलाई उनको वासस्थानमा गई सर्टिफिकेट तथा मोमेन्टो प्रदान गरियो। डुवर्स नारी संगठनले आफ्नो पेजमा बाल-बालिकामाथिको यौन शोषण विषयमाथि सचेतनामूलक प्रतिस्पर्धा राखेको थियो, जसमा धेरैले भाग लिएका थिए। यसै प्रतियोगितामा बाग्राकोट उच्च माध्यमिक विद्यालयकी शिक्षिका सोनी लकान्द्री प्रथम भएकी थिइन्।
उनलाई सर्टिफिकेट र मोमेन्टो प्रदान गर्दै सम्मान जनाउन फोरमकी संस्थापिका मेनुका शाह प्रधान लगायतको टोलीले बाग्राकोट पुग्यो। संस्थाले बाल-बालिका बेचबिखन, बालश्रम‌ तथा शोषण, बाल-बालिका उत्पीड़न जस्ता विषयहरूलाई निर्मूल गर्नार्थ कार्य गर्ने गरेको संस्थापिका मेनुका शाह प्रधानले बताएकी छन्।

2.
वानरहाट थाना अन्तर्गत रहेको मगलकट्टा चियाबारीको ४ नम्बर लाइनमा गणेश पूजा समारोहसितै सामूहिक विवाहको पनि आयोजना गरिएको थियो। कार्यक्रमका मुख्य अतिथिका रूपमा राज्यका आदिवासी जनजाति विभागका स्वतन्त्र मन्त्री बुलुचिक बराइक उपस्थित थिए। उनीसितै धुपगुढ़ी पञ्चायत समिति सभापति दिनेश मजुमदार, तृणमूल जिल्ला कमिटी साधारण सचिव राजु गुरुङ, वानरहाट ब्लक युवा सभापति बिमल महाली, श्रमिक नेता धनबहादुर छेत्री लगायत अन्यान्यको उपस्थिति थियो। आयोजक कमिटीका सचिव पुनाइ उराँव, सभापति बन्धन उराँव, उप-सभापति प्रसाद तिग्गाले आदिवासी समाजको यो पुरानो रीति रहेको तथा यसरी गरीब अनि असहाय परिवारहरुले विवाहको खर्च बेहर्नु साह्रो पर्छ र यसैलाई ध्यानमा राखेर आफूहरूले यसरी सामूहिक विवाह गर्नेगरेको बताए। कार्यक्रममा १५ जोड़ीको विवाह गराइएको तिनीहरूले थप बताए।

3.
नगरकट्टा ब्लक तृणमूल कंग्रेसको कर्मी सभा स्थायनीय अग्रसेन भवनमा सम्पन्न भयो। सभामा मुख्य अतिथिका रूपमा पश्चिम बंगाल राज्यका जनजाति मन्त्री बुलुचिक बड़ाइक थिए भने अतिथिका रूपमा तृणमूल जलपाइगड़ी जिला सभापति महुआ गोप थिए।
आउँदो 2023-मा पञ्चायत चुनाउ हुन गइरहेकोले यसैलाई ध्यानमा राख्दै अहिलेदेखि नै तृणमूल कंग्रेसले आफ्नो गृहकार्य शुरू गरिरहेको सभामा जिल्ला सभापतिले दलीय कर्मीहरूलाई जानकारी गराए।
पार्टी जिल्ला सभापति महुआ गोपले चाँड़ै नै जिल्लाका अन्य दश ब्लक कमिटीको गठन गरिने सभामा बताए। पार्टीमा कुनै पनि प्रकारको गूटबाजी नगर्ने कर्मीहरूलाई निर्देशसमेत तिनले दिए।
यसैबिच, मन्त्री बुलुचिक बड़ाइकले सभामा बोल्दै गूटबाजीको कारण नै यसपल्ट विधानसभा चुनाउमा उत्तर बंगालमा पार्टीले पराजयको सामना गर्नुपरेको कुरालाई स्वीकारे। आउने दिनहरूमा अब पार्टीमा कुनै गूटबाजी चल्न नदिइने तिनले बताए।
कर्मी सभामा जलपाइगड़ी जिला आईएनटीटीयूसी जिला सभापति राजेश लाकड़ा, चियाकमान तृणमूल कांग्रेस मजदुर नेता बैजनाथ नायक, जिल्ला महिला तृणमूल सभापति नुरजाह बेगम, ब्लक सभापति सञ्जय कुजुर, तृणमूल युवा कंग्रेस पञ्चायत ब्लक सभापति गोविन्द लामा, समिति सभापति फिरोजी नूर पटवारी, लुकसान ग्राम पञ्चायत प्रधान मनोज मुण्डा, सुलाकापाडा ग्राम पञ्चायत प्रधान आशा उराँव लामा साथै पाँचैवटा ग्राम पञ्चायत क्षेत्रका अञ्चल सभापतिहरूको उपस्थिति थियो।

4.
विगत वर्ष 2014 -मा रेलको चपेटमा परेर दुवै खुट्टा गुमाउन पुगेका लिटन दासलाई तृणमूल कंग्रेस पार्टीको एउटा कार्यक्रमबिच आफ्नो जन्मदिनको अवसर पारी तृणमूल कालचिनी ब्लक सभापति पासङ लामाले 15 हजार रुपियाँ प्रदान गरे।
विशेषगरि लिटन दास कालचिनी खण्डको गारोपाड़ा अञ्चल अन्तर्गत पर्ने राजाभात चियाबारी बासिन्दा रहेको र विगत विधानसभा चुनाउ अघि पनि पासङ लामाले तिनलाई एउटा ह्विल चेयर प्रदान गर्दै यदि विधायक बन्न पाए लिटनलाई आफ्नो सहायक राख्ने आश्वासन दिएका थिए। विधायक नबने पनि आफ्नो पक्षबाट दिव्याङ् लिटनलाई मासिक 5 हजार रुपियाँ भत्ता दिने वचन दिएकोले अठियाबारी चियाबारीमा पार्टीको एउटा कार्यक्रमबिच लिटनलाई विगत 3 महीनाको हिसाब गरेर 15 हजार रुपियाँ लामाले प्रदान गरे।
यता, दिव्याङ् लिटन दासले पासङ लामा दाजु ह्रदयको सफा र दयालु व्यक्ति रहेको जनाउँदै चुनाउ जित्न नसके पनि आफ्नो वचन पूरा गरेकोमा पासङ लामाप्रति कृतज्ञता प्रकट गर्दै धेरै खुसी अनुभव गरिरहेको बताए।

5.
कालचिनी खण्डको गारोपाड़ा अञ्चलको अठियाबारी चियाबारीमा आयोजित तृणमूल कंग्रेसको एउटा विशेष कार्यक्रममा गारोपाड़ा अञ्चलका प्रायः 500 भाजपा समर्थकहरू तृणमूलमा सामेल भए। पार्टीमा सामेल हुने सबैलाई तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकाशचिक बड़ाइक, चेयरम्यान मृदुल गोस्वामी र ब्लक सभापति पासाङ लामाको बाहुलीबाट झण्डा प्रदान गर्दै पार्टीमा स्वागत जनाइयो। यसैबिच, उपस्थित अतिथिहरूको हातबाट मानिसहरूलाई तारपोलिन पनि वितरण गरियो।
कार्यक्रममा तृणमूल कालचिनी ब्लक सभापति पासाङ लामा लगायत तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकाशचिक बड़ाइक, तृणमूल जिल्ला चेयरम्यान मृदुल गोस्वामी, उप-सभापति तथा महिला नेत्री इन्दुसिंह राय, निर्मला माझी, गारोपाड़ा ग्राम पञ्चायत ‌प्रधान विन्द्या लामा, गारोपाड़ा अञ्चल सभापति थ्योडोर खाखा, अञ्चल उप-सभापति रञ्जित प्रधान, अञ्चल नेता वसन्त राई, युवा नेताहरू क्रमैले विकास लामा, कर्ण नौबागसहित अन्यान्यको उपस्थिति थियो। कार्यक्रममा इन्दुसिंह राय, मृदुल गोस्वामी, थ्योडोर खाखा, प्रकाशचिक बड़ाइक आदिले आ-आफ्नो मन्तव्य पोखे। कार्यक्रमको सञ्चालन तृणमूल गारोपाड़ा अञ्चल चेयरम्यान घुरन महलीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *