• Wed. May 14th, 2025

डुवर्स एक्सप्रेस : डुवर्सका पाँच मुख्य खबर

Byadmin

Sep 16, 2021
  • प्रतिस्पर्धामा दोस्रो स्थान ओगट्न सफल बनेकी गोरुबथान बड़ा फागुकी छोरी दीपमाला शर्मालाई प्रमाण-पत्रसहित पुरस्कार प्रदान गर्न डुवर्स नारी संगठन हुमेन्स फोरम टोली पुग्यो तिनको घर।
  • दैलोमा सरकारको अन्तिम शिविरसितै अब दैलोमा राशन शुरु। अलिपुरद्वार जिल्लाशासक सुरेन्द्र कुमार मीणाले आफ्ना अधिकारीहरुसित अनि कालचिनी बीडीओ पनि दैलोमा राशन वितरण कर्मसूचीमा बने सहभागी।
  • प्रोगेसिभ स्टुडेन्ट यूनियनद्वारा दशबूँदे दाबीहरू लिएर जिल्लाशासकलाई चढ़ाइयो ज्ञापन। युनियनले पहिले अलिपुरद्वार शहरमा निकाल्यो ऱ्याली।
  • रक्तदानमा कालचिनीको निमतीझोड़ा निवासी रञ्जित मिश्राले गरे रेकर्ड। अहिलेसम्म 105 पल्ट रक्तदान गरेको तिनको भनाइ।
  • पानीको पाइप नालीबिचमा बिछ्याइएको गुनासोबिच रोकियो पीएचई-पाइपलाइनको कार्य। जाँचपछि कार्यलाई निरन्तरता दिइने जानकारी।

अब खबर विस्तारमा……
1.
डुवर्स नारी संगठन हुमेन्स फोरमद्वारा राखिएको प्रतिस्पर्धामा दोस्रो स्थान ओगट्न सफल गोरुबथान बड़ा फागुकी छोरी दीपमाला शर्मालाई बुधवार उनैको वासस्थानमा गई सर्टिफिकेट तथा मुमेन्टो प्रदान गरियो। डुवर्स नारी संगठनले आफ्नो पेजमा बाल-बालिका माथिको यौन शोषण विषयमाथि सचेतनामूलक प्रतिस्पर्धा राखेको थियो। धेरैजनाले यसमा भाग लिएका थिए। प्रतियोगितामा दीपमाला शर्मा दोस्रो भएकी थिइन्। उनैलाई भेट्न तथा सर्टिफिकेट र मुमेन्टो प्रदान गर्न बुधवार संस्थाकी संस्थापिका मेनुका शाह प्रधान, परिमल सरकार सल्लाहाकार, तुलासा प्रधान, पम्पा तामङ, अर्जुन राई, संस्कृति श्रेष्ठ र मायुक शाह गोरुबथान पुगेका‌ थिए।
यस संस्थाले बाल-बालिका बेचबिखन, बाल श्रम‌ शोषण, बाल-बालिका उत्पीडन जस्ता विषय निर्मूल हेतु कार्य गर्ने गरेको संस्थापिका मेनुका शाह प्रधानले बताइन्।

2.
राज्य सरकारद्वारा जारी दैलोमा सरकार शिविरको अन्तिम शिविर अलिपुरद्वार जिल्लाको 6 वटै ब्लकहरुको आ-आफ्नो ग्राम पञ्चायत क्षेत्रहरुमा चलिरहेको क्रममा बुधवारदेखि मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा दैलोमा राशन कर्मसूची आरम्भ गरियो। यसै क्रममा अलिपुरद्वार जिल्लाशासक सुरेन्द्र कुमार मीणाले जहाँ आफ्नो अधिकारीहरुसित अलिपुरद्वार नगरपालिका क्षेत्रमा घुम्दै दैलोमा राशन वितरणमा सहभागी बने।
यसैबिच, कालचिनी बीडीओ प्रशान्त बर्मनले स्वयं फूड इन्स्पेक्टर एवम् अधिकारीहरुलाई साथमा लिएर दैलोमा राशन कर्मसूचीको क्रममा कालचिनी खण्डको भातखावा, भर्नाबारी, बिचलाइन, दलसिंहपाड़ा, सुभाषिनी आदि मोठ 13 वटा जति चियाबारी क्षेत्रहरुमा दैलोमा राशन वितरण गरे।

3.
प्रायः 10 बूँदे दाबीहरू लिएर बुधवार आरएसपी-को विद्यार्थी सङ्गठन प्रोगेसिभ स्टुडेन्ट यूनियन (पीएसयू) अलिपुरद्वार जिल्ला कमिटीको पक्षबाट अलिपुरद्वार जिल्लाशासककहाँ एउटा ज्ञापन चढ़ाइयो। यस आशयको जानकारी पीएसयू जिल्ला सचिव राजीव हुसैनले दिए।
ज्ञापन चढ़ाउनअघि पीएसयूका सदस्यहरुले अलिपुरद्वार शहरमा एउटा ऱ्याली पनि निकाले। उक्त ऱ्यालीले अलिपुरद्वार शहरको परिक्रमा गर्दै अन्ततः अलिपुरद्वार जिल्ला प्रशासनिक भवन डुवर्सकन्यामा पुगेर जिल्लाशासकलाई ज्ञापन सुम्पिने काम भयो।
ज्ञापनमा कोभिड परिस्थितिले विद्यार्थीहरूको शैक्षिक स्तरमा क्रमश ह्रास आउँदै गइरहेकोले शीघ्र कोभिड विधिलाई पालन गर्दै शैक्षिक संस्थानहरू सबै खोलिनुपर्ने, कोभिडकालले गर्दा विद्यार्थीहरूले स्कूल छोड़्न परेको डाटा सङ्कलन गरिनुपर्ने, अलिपुरद्वारमा एउटा ल कलेजको स्थापना, अलिपुरद्वार विश्वविद्यालयलाई पूर्णाङ्क विश्वविद्यालयमा परिणत गरिनुपर्ने, अलिपुरद्वारमा मेडिकल कलेजको स्थापना, बाराबिसामा एउटा महिला कलेजको स्थापना, प्रत्येक कलेजहरुमा सबै विषयका अनर्स कोर्स चालू गरिनुपर्ने, प्रत्येक कलेजहरुमा एनसीसी प्रशिक्षण गराइनुपर्ने आदि दाबीहरू समावेश गर्दै यसतर्फ जिल्लाशासकको ध्यानाकर्षण गराइने काम गरिएको पीएसयू जिल्ला सचिव राजीव हुसैनले बताए।

4.
सन् 1992 देखि आजसम्म स्वेच्छाले रक्तदान गर्दै आइरहेका कालचिनी खण्ड अन्तर्गत निमतीझोड़ा निवासी रञ्जित मिश्राले अहिलेसम्म 105 पल्ट रक्तदान गरिसकेर रेकर्ड गरेका छन्। यिनी अहिले 56 वर्षका पुगे। रगतको अभावले कसैको मृत्यु नहोस् भन्ने उनको भनाइ छ।
अलिपुरद्वार जिल्ला अस्पतालमा पुगेर त्यहाँको हेमिल्टनगञ्जका एकजना रोगीको निम्ति रक्तदान गरे। आजसम्म 105 युनिट रक्तदान आफूले गरिसकेको तिनले बताए। रक्तदान महादान भएकोले कसैको ज्यान बचाउन रक्तदान जस्तो पुण्यकर्म अरू कुनै नभएको तिनी बताउँछन्। जबसम्म शरीरले साथ दिन्छ तबसम्म रक्तदान गर्न नछोड्ने तिनले बताए।

5.
भारत-भोटाङ सीमान्त क्षेत्र जयगाउँका वासिन्दाहरूका घर-घरमा पिउने पानीको पाइप निशुल्क रूपमा पुऱ्याउन पीएचई विभागले पाइपलाइन विछ्याउने कार्य शुरू गरिसकेको छ। यसैक्रममा जयगाउँको एमजी रोड, बहुबजार क्षेत्रमा सड़कको नालीमा नै पाइपलाइन लगाउने कार्यप्रति स्थानीय व्यवसायी अनि साधारण मानिसहरूले आपत्ति जनाउँदा पाइपलाइन बिछ्याउने कार्य रोकिन पुगेको छ।
कालचिनी ब्लक च्याम्बर्स अफ कमर्सका महासचिव राकेश पाण्डेयले यसमा आपत्ति जनाउँदै पाइपलाइन बिछ्याउने कार्य राम्रो हो तर यस प्रकारले सड़कको नालीबाट लगाउँदा निकासी पानी सबै दोकानपाट तथा घरहरूमा पस्नेगरेकोले यसतर्फ समयमै ध्यान दिनुपर्ने बताएका छन्। यसको गुनासो जेडीए चेयरम्यानलाई समेत गरिएको तिनले जनाएका छन्।
वर्तमान उक्त कार्य रोकिएको र जाँचपछि मात्र यसलाई निरन्तरता दिइने सूत्रबाट थाहा गेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *