राज्यको सुस्वास्थ्य योजना लागू हुनअघि नै लाग्यो ब्रेक। सेवाप्रदत्त कम्पनीको विश्वसनीयता सन्देहको घेरोमा।
सिक्किम सरकारले सबै सरकारी कर्मचारीलाई किफायती स्वास्थ्य वीमा सेवा प्रदान गर्न शुरू गर्नअघि नै यसले ब्रेक लगाएर सबैलाई चकित पारेको छ। बुधबार राज्यका वित्तीय विभागका अतिरिक्त मुख्य सचिव विजय भूषण पाठकले एउटा परिपत्र जारी गर्दै उक्त किफायती स्वास्थ्य वीमा सेवा स्थगन गरिएको जानकारी गराए। उक्त परिपत्रमा कुनै कारण उल्लेख नगरिएको भए पनि स्थायी सरकारी कर्मचारीहरू ज-जसले सो वीमा लिएका छन् अनि रकम भुक्तान गरेका छन्, उनीहरूको सो रकम फिर्ता हुने उल्लेख गरिएको छ। अचानक किन शुरू गरिएको यो बृहत् परियोजना लागू हुनअघि नै राज्य सरकारले यसरी ब्रेक लगायो भन्ने कुरा कहींबाट खुल्न सकेको छैन भने वित्तीय विभागका प्रमुखले यसबारे मुख खोल्न चाहेनन् अनि केही दिनभित्रमा राज्य सरकारले यसको स्पष्टीकरण दिने कुरा मात्र गरे।
प्राप्त जानकारी अनुसार सेवाप्रदत्त कम्पनी स्वाधी स्वास्थ्य प्रबन्धन प्रा.लि.-को विश्वसनीयता नै संदेहको घेरोमा परेको कारण राज्य सरकारले सतर्कता अप्नाउँदै सो निर्णय लिएको हुनसक्ने अनुमान लगाइएको छ।