• Sun. May 19th, 2024

पश्चिम सिक्किमको सोरेङमा राष्ट्रिय पोषण महिना, कार्यक्रमको समापन उत्कृष्ट आँगनवाड़ी कर्मीहरूलाई जनाइयो सम्मान

Byadmin

Sep 30, 2021

पश्चिम सिक्किमको सोरेङमा राष्ट्रिय पोषण महिना कार्यक्रमको समापन। ६ वटा जोनका उत्कृष्ट आँगनवाड़ी कर्मीहरुलाई विभागले जनायो सम्मान। आँगनवाडी कर्मीहरुले प्रदर्शनी र बिक्रीको निम्ति राखेका थिए जैविक साग-सब्जी, फल लगायत अन्य विभिन्न प्रकारका पौष्टिक आहारहरू।

पश्चिम सिक्किमको सोरेङ महकुमा अन्तर्गत सामाजिक न्याय एवं कल्याण विभागको महिला एवं बाल विकास प्रकोष्ठले बिहीबार सोरेङमा एउटा कार्यक्रमबिच राष्ट्रिय पोषण महिनाको समापन कार्यक्रम सम्पन्न गऱ्यो। गत १ सेप्टेम्बरदेखि शुरु भएको राष्ट्रिय पोषण महिना एक महिनामा समापन भएको हो।
सोरेङ स्कूलको स्वर्ण जयन्ती रंगशालामा आयोजित कार्यक्रममा खेलकूद एवं युवा मामिला विभागका सल्लाहकारका मेघनाथ सुब्बा प्रमुख अथितिको रूपमा उपस्थित थिए भने अतिथिहरूमा ग्रामीण प्रबन्धन विकास विभागका अतिरिक्त जिल्लापाल गायस पेगा, शिक्षा विभागका संयुक्त निर्देशक एसपी शर्मा लगायत अन्यहरूको उपस्थिति थियो। कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले पोषण महिना कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पारे। देशलाई कूपोषणमुक्त साथै महिला र नानीहरुलाई सन्तुलित पौष्टिक आहार दिएर स्वस्थ समाजको निर्माण गर्नुपर्ने विषयमा जागरुकता फैलाउन राष्ट्रिय पोषण महिना कार्यक्रमको एकमात्र अभीष्ट लक्ष्य रहेको वक्ताहरूले बताए।
कार्यक्रममा ६ वटा जोनका उत्कृष्ट आँगनवाड़ी कर्मीहरुलाई विभागले स्मृति-चिन्ह प्रदान गर्दै सम्मान जनायो। समारोहमा आँगनवाडी कर्मीहरुले जैविक साग-सब्जी, फल लगायत अन्य विभिन्न प्रकारका पौष्टिक आहारहरु प्रदर्शनी र बिक्रीको निम्ति राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *