पैह्रो पीड़ित परिवारको गुहार अजय एडवर्डलाई। एडवर्डद्वारा परिवारलाई सहयोग प्रदान। बिजनबारी भेकका बाटाहरूका पैह्रोलाई जेसीबी-द्वारा गरियो सर-सफाई। हात्तीसूढ़े बर्षाझरीले दार्जीलिङ पहाड़ लगायत छेमेकी राज्य सिक्किमसमेतलाई यसले प्रभावित तुल्यायो। यसरी नै वर्षाको कारण दार्जीलिङ महकुमा अधीनस्थ बदाताम ठाड़ो लाइनको एउटा घर क्षतिग्रस्त बनेको थियो। उक्त घरका पीडित परिवारले अजय एडवर्डलाई सहायताको गुहार लगाएका थिए। अजय एडवर्डले घट्नास्थलमा रितेश पोर्तेल अनि अन्य सदस्यहरुको टोलीलाई तुरन्त पठाई पीड़ित परिवारलाई सहयोग पुऱ्याउने काम गरे। यसरी नै, बिहीबार बिहान अजय एडवर्डको निजी जेसीबी-द्वारा लिंगिया, तामसाङको पैह्रो गएको बाटोलाई सफा तथा अस्थायी रूपमा मरम्मत गरिने काम भयो। यसका साथै एडवर्डले आफ्नो टिममार्फत् क्षतिपूर्तिको निम्ति तारपोलिनहरू पनि वितरण गरे। अर्कोतिर, बिजनबारी भेकका धेरैजसो कमान-बस्ती क्षेत्रका बाटाहरू अनि घरहरूलाई वर्षाले धेरै क्षति पुऱ्याएको हुनाले अजय एडवर्डको निजी जेसीबी-द्वारा बाटो सर-सफाई गर्दै यातायात व्यवस्थालाई सुचारू गरिने काम गरियो।