• Sun. May 19th, 2024

डुवर्स एक्सप्रेस : डुवर्सका पाँच प्रमुख खबरहरू

Byadmin

Sep 3, 2021

–     कोरोना भ्याक्सिनेशन दुरामारी काण्ड : बीडीओ अनि बीएमओसीएच-लाई शोकज नोटिश। घटनामा 29 घाइते, दुइको अवस्था चिन्ताजनक। दुरामारी क्षेत्रमा भ्याक्सिन दिने प्रक्रिया अहिलेघरि  गरियो बन्द।

–     नगरकट्टा सांस्कृतिक मञ्चले गऱ्यो एनएफ रेलवेलाई नगरकट्टा र केरन स्टेशनमा  टुरिस्ट भिस्टाडोम ट्रेन स्टोपेजको माग। दुवै रेलवे स्टेशन मास्टरलाई बुझायो ज्ञापन।

–     हेमिल्टनगञ्जका दुइ नाबालिकाहरू सिलगढ़ीबाट उद्धार। गत 30 अगस्तको दिन रेलवे स्टेशनबाटै निखोज भएका थिए नाबालिकाहरू।

–     पुलिस दिवसको अवसरमा अलिपुरद्वार जिल्लाशासक अनि पुलिस अधीक्षकलाई तृणमूल कालचिनी ब्लक सभापति पासाङ लामाको टोलीले जनायो सम्वर्द्धना। यसैगरी, अर्कोतिर कालचिनी, हासीमारा र जयगाउँ थाना प्रभारी एवं पुलिस अधिकारीहरूलाई छात्र परिषद् टोलीले पनि जनायो सम्मान।

–     एसएसबीको साइकल ऱ्यालीलाई स्वागत कालचिनीमा जनाइयो स्वागत। आगामी 2 अक्टोबरभन्दा अघि दिल्ली राजघाटमा पुगेर उक्त ऱ्याली समापन हुने एसएसबीका डीआईजी परीक्षित बेहराले दिए जानकारी।

अब खबर विस्तारमा…….

1.

जलपाइगढ़ी जिल्लाको सालबारी-1 ग्राम पञ्चायतस्थित दुरामारी क्षेत्रको चन्द्रकान्त हाई स्कूलमा गत मंगलवार भ्याक्सिनेशन लिएर मानिसहरूबिच चलेको भागदौड़मा एकजना पुलिसकर्मीसहित 29 जना घाइते भएका थिए। यस घटना विषयमा बुधवार जिल्लाधिकारीले वानरहाटका बीडीओ प्रह्लाद विश्वास अनि धुपगुढ़ी ब्लकका स्वास्थ्य अधिकारी सुरजीत घोषलाई कारण बताऊ नोटिश जारी गरेको खबर छ।

अहिलेघरि केही दिनका लागि दुरामारी इलाकामा भ्याक्सिन दिने प्रक्रियालाई बन्द गरिएको थाहा लागेको छ।

घटनापछि क्षेत्रमा सुनसान छाएको छ भने अहिले पनि स्कूल परिसरमा मानिसहरूका चप्पल, मास्कहरू आदि जताततै छन्।

2.

एनएफ रेलवेद्वारा शुरू गरिएको विशेष टुरिस्ट भिस्टाडोम ट्रेन लगायत अन्य स्पेशल ट्रेनहरूको स्टोपेजको माग गर्दै नगरकट्टा क्षेत्रबाट गण्यमान्य व्यक्तिहरूले नगरकट्टा अनि केरन रेलवे स्टेशन मास्टरलाई ज्ञापन चढ़ाए। नगरकट्टा सांस्कृतिक मञ्चको पक्षबाट दिइएको उक्त ज्ञापन-पत्रमा रेलवे अधिकारीहरूलाई ध्यानाकर्षण गराउने काम गरिएको छ। सिलगढ़ीबाट अलिपुरद्वार जंक्सनसम्म स्पेशन ट्रेन आरम्भ गरिँदैछ तर दुखको कुरो उक्त ट्रेनको नगरकट्टा अनि केरल स्टेशनमा कुनै स्पोपेज नै छैन भन्दै स्टोपेज नभएको कारण यात्रीहरूलाई धेरै कठिनाइहरू झेल्नु परिरहेको ज्ञापनमा उल्लेख छ। नगरकट्टा यस्तो क्षेत्र हो, जहाँबाट राष्ट्रिय निकुञ्ज गोरुमारा नजीक पर्दछ। दार्जीलिङ पहाड़का प्रसिद्ध पर्यटकीय क्षेत्रहरू छेवैमा छन्। यहाँ हजारौं पर्यटकहरू आउने गरेको जनाउँदै मञ्चले एनएफ रेलवेलाई स्पेशन टुरिस्ट भिस्टाडोम ट्रेनलाई नगरकट्टा अनि केरन स्टेशनमा स्टोपेज दिनुपर्ने माग गरेको छ।

3.

गत 30 अगस्तको दिन अचानक कालचिनी थाना अन्तर्गत हेमिल्टनगञ्ज क्षेत्रका दुइजना नाबालिकाहरू घरबाट निखोज बनेका थिए। हेमिल्टनगञ्ज रेलवे स्टेशन घुम्न भनी घरबाट निस्किएका यी दुइजना नाबालिकाहरू अबेर रातिसम्म पनि घरमा नफर्किएपछि अन्ततः दुवै नाबालिकाका अभिभावकले कालचिनी थानामा प्राथमिकी दर्ता गरे।

सो निखोज प्राथमिकी अभियोको आधारमा कालचिनी पुलिसले फोन ट्र्याक गरेर दुवैलाई सिलगढ़ीबाट उद्धार गरेर बुधवार राति कालचिनी थाना ल्याउन सफल भएको थियो।

यी दुइ नाबालिकाहरूलाई स्वास्थ्य जाँज गराएर अलिपुरद्वार जिल्ला अदालतमा पठाइएको र त्यहाँबाट तिनीहरूलाई नाबालिका रहेको कारण चाइल्ड वेलफेयर कमिटी सीडब्ल्यूसीमा काउन्सिलिङ गरेपछि अभिभावकलाई सुम्पिइने पुलिसले बतायो।

यता, घरमा आमा-बाबाले गाली गरेकोले घरबाट घुम्न निस्किएको तर कालचिनी थानाको पुलिसको तत्परतामा दुवै केटीहरू सकुशल उद्धार भएकोले ढुक्क लागेको अभिभावकहरूले जनाएका छन्।

4.

पुलिस दिवसको उपलक्ष्यमा बुधवार तृणमूल कालचिनी ब्लक सभापति पासाङ लामाले अलिपुरद्वार जिल्लाशासक सुरेन्द्र कुमार मीणा अनि पुलिस अधीक्षक डा. भोलानाथ पाण्डेलाई उनीहरूका कार्यालयमा पुगेर दोसल्ला पहिराउनुका साथै फूलको गुच्छा प्रदान गरेर सम्मान जनाउँदै पुलिस दिवसको शुभकामना दिए। यस अवसरमा पासाङ लामाले पुलिस प्रशासन नभएको भए देशमा अराजकता र अपराध देशमा बढ़ेर जाने जनाउँदै आज पुलिसको सक्रियताले गर्दा नै सबै नागरिक समाज सुरक्षित बस्नपाएको बताए। सबैको पर्व र अवसर हामीले पालन गर्दै आईरहेको साथै पुलिस दिवसको उपलक्ष्यमा पनि हामीले प्रशासनिक अधिकारीहरूलाई सम्मान गर्नुपर्ने लामाले बताए।

यसैबिच, अर्कोतिर तृणमूल छात्रा परिषद् कालचिनी ब्लक कमिटीको पक्षबाट पनि छात्र परिषद्का क्षेत्रीय नेता हैदर अली अन्सारीसहित सदस्यहरूले  कालचिनी,  हासीमारा र जयगाउँ थानामा त्यहाँका प्रभारी औ सहायक पुलिस अधिकारीहरुलाई खदा पहिराएर स्मृति-चिन्ह प्रदान गर्दै पुलिस दिवसको शुभकामना दिए।

5.

एसएसबीको साइकल ऱ्याली टोलीलाई कालचिनी स्थित राष्ट्रिय राजमार्ग 31 सी संलग्न कालचिनी आईटीआई कलेजमा स्वागत जनाइयो।

एसएसबीको तेजपुर फ्रन्टियरबाट गत 15 अगस्तबाट आरम्भ गरिएको साइकल ऱ्यालीको टोली गुवाहाटी फ्रन्टियर हुँदै असम सीमान्त काटेर बङ्गाल प्रवेश गरेपछि बुधवार दिउँसो 1 बजी कालचिनी बामनपाड़ा स्थित आईटीआई कलेजमा आइपुग्दा टोलीलाई स्थानीय बोड़ो मेचे औ राभा सांस्कृतिक टोलीले खदा र टिका लगाएर स्वागत जनाए। एसएसबी 53 वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको पहलमा सम्पन्न स्वागत कार्यक्रममा मुख्य रुपले एसएसबीका डीआईजी परीक्षित बेहराको उपस्थिति थियो भने एसएसबी 53 वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट मनोहर लाल लगायत एसएसबीका सहायक अधिकारीहरु अनि एसएसबी 53 वाहिनी अन्तर्गत पर्ने जयगाउँ बीओपीका जवानहरू साथै मेन्दाबारीका बोड़ो समाजसेवीहरू विजय साइबो, चन्द्रा नार्जीनारी, मेन्दाबारी ग्राम पञ्चायतका प्रधान मोना राभा, विनय नार्जीनारीको उपस्थिति थियो।

75औं स्वतन्त्रता वर्षगाँठको अवसरमा अमृत महोत्सव अन्तर्गत साइकल ऱ्याली निकालिएको जनाउँदै साइकल ऱ्यालीको टोली प्राय: 2863 किलोमीटरको यात्रा आगामी 2 अक्टोबरभन्दा अघि दिल्ली राजघाटमा पुगेर समापन हुने एसएसबीका डीआईजी परीक्षित बेहराले बताएका छन्।

https://youtu.be/Zk7Ek-qX9fM

Leave a Reply

Your email address will not be published. Required fields are marked *