• Fri. May 17th, 2024

डुवर्स एक्सप्रेस : डुवर्सका पाँच मुख्य खबर

Byadmin

Sep 15, 2021
  • ज्वरोले नानीको मृत्यु। अस्पतालमा 98 जना चिकित्साधीन। पर्याप्त किटको अभावमा टेस्टिङ गर्नमा धेरै समस्या भइरहेको खुलासा। मालबजारमा पनि नानीहरूको उपचार गराउनका लागि माल सुपर स्पेशियलिटी अस्पतालमा मानिसहरूको लागिरहेछ भीड़।
  • डुवर्स-तराईका चिया श्रमिकहरूलाई 20 प्रतिशतको दरले दिइने भयो पूजा बोनस। भर्चुअल द्विपक्षीय बैठकमा लिइयो निर्णय। पहाड़का चिया श्रमिकहरूको बोनसबारे फसेला हुनेछ आज।
  • राइमटाङ र कालचिनी चियाकमानका अवकाशप्राप्त श्रमिकहरूले पाए ग्रेच्युटी। धेरै वर्षअघि नै कमानबाट अवकाश ग्रहण गरेर बसेका थिए दुवै कमानका श्रमिकहरू। मोठ 13 जना श्रमिकहरुले पाए ग्रेच्युटी।
  • डुवर्सका पाँच महत्त्वपूर्ण स्थानहरूमा स्वतन्त्रता सेनानी वीर बिरसा मुण्डाको मूर्ति स्थापना गरिइने। मूर्ति स्थापना गर्नुभन्दा अघि डुवर्सभरिकै प्रत्येक घर-घरमा गएर एकमुट्ठी माटो सङ्ग्रह गरिने आदिवासी विकास परिषद् महासचिव रञ्जित लाकड़ाले दिए जानकारी ।
  • रेलको धक्काले एकजना महिलाको मर्मान्तिक मृत्यु। मृतक महिला कैलाशपति तेली डिमा चियाबारीको बिचलाइन निवासी हुन्। कमानबाट उनी रिटायर्ड भएको 9 दिन मात्र भएको मृतकका छोराको भनाइ।
    अब खबर विस्तारमा………

1.
अहिलेघरि जलपाइगढ़ी जिल्ला अस्पतालमा ज्वरोले बिमार भएका धेरै संख्यामा नानीहरू उपचाराधीन छन्। उपचारकै क्रममा एकजना नानीको मंगलवार मृत्यु भयो। उक्त नानी कोचबिहार निवासी रहेको खबर छ। यसैबिच, अस्पतालमा चिकित्साधीन एकजना नानीमा डेंगुको जीवाणु पाएको थाहा लागेको छ।
वर्तमान जलपाइगढ़ी जिल्ला अस्पतालमा शिशु विभागमा मोठ 98 जना नानीहरू चिकित्साधीन छन्।
यसैबिच, मंगलवार 29 जना नानीहरू स्वस्थ भएकाले उनीहरूलाई छुट्टी दिइएको अस्पताल सूत्रले जनाएको छ।
उल्लेखनीय छ, बिमारी कुनै पनि नानीमा कोरोना संक्रमण नभएको बताइएको छ।
अर्कोतिर, जलपाइगढ़ी जिल्ला अस्पताल अनि माल सुपर स्पेशियलिटी अस्पतालमा पर्याप्त किट नभएकोले टेस्टिङ गर्न नसकिरहेको बताइएको छ। जति पनि नानीहरू भर्ती भएका छन् उनीहरू सबैको ऱ्यापिड एन्टिजेन टेस्ट गरिँदैछ तर ज्वरोको जाँचका लागि डेंगु अनि चिकनगुनियाका पर्याप्त किट छैनन् भनी दुवै अस्पताल सूत्रबाट थाहा लागेको छ।

2.
डुवर्स र तराईका सबै चियाश्रमिकहरूलाई यस वर्ष 20 प्रतिशत पूजा बोनस दिने सहमति मालिक पक्षको संगठन सीसीपीए अनि चियाबारीका सबै अपरेटिङ श्रमिक संगठनहरूमाझ भयो। मंगलवार भर्चुअल सभाद्वारा 20 प्रतिशत बोनस दिइने निर्णय भएको जानकारी एनयुपीडब्ल्युयु श्रमिक संगठनका अध्यक्ष मणिकुमार दर्नालले दिए। चिया श्रमिकहरूको पूजा बोनसबारे मंगलवार मध्यान्ह 12 बजीदेखि आठ घण्टासम्म चलेको बैठकमा अन्तत: सबै क्याटोगरीका चियाबारीका श्रमिकहरूलाई 20 प्रतिशतको दरले बोनस दिइने विषयमा सहमति भयो।
यता, सबै श्रमिक संगठनहरूले पूजा बोनसको निर्णयमाथि सहमति जनाउँदै स्वागत जनाएका छन्।
उल्लेखनीय छ, मंगलवार सम्पन्न द्विपक्षीय वार्तामा तराई अनि डुवर्सका मोठ 182 वटा कमानका प्रतिनिधिहरूले अंशग्रहण गरेका थिए।

3.
बक्सा डुवर्स टी कम्पनी लिमिटेड अधीनस्थ रहेको राइमटाङ र कालचिनी चियाबारीका 13 जना रिटायर्ड श्रमिकहरुले ग्रेच्युटी पाएको राइमटाङ चियाबारीको तृणमूल समर्थित ट्रेड यूनियन तराई डुवर्स प्लान्टेशन वर्कर्स यूनियनका यूनिट सभापति पवन योल्मोले जानकारी दिएका छन्।
मङ्गलवार अबेर साँझ कालचिनी र राइमटाङ चियाबारीको विगत धेरै वर्षअघि नै कमानबाट अवकाश ग्रहण गरेर बसेका जम्मा 13 जना श्रमिकहरुलाई दुवै कमान कर्तृपक्षले ग्रेच्युटी रकमको चेक प्रदान गरे।
बल्ल बल्ल ग्रेच्युटी प्राप्त गरेपछि के भन्छन् त श्रमिकहरू, सुनौं :…

4.
डुवर्सका पाँचवटा महत्त्वपूर्ण स्थानहरूमा स्वतन्त्रता सेनानी वीर बिरसा मुण्डाको मूर्ति स्थापना गर्नेभएको छ भारतीय मूलनिवासी आदिवासी विकास परिषद्ले।
मंगलबार दिउँसो वानरहाटमा उक्त विषयको जानकारी संगठनका संयुक्त महासचिव रञ्जित लाकड़ाले दिए। उनले डुवर्सको एलेनबाड़ी, गैरकट्टा चौपती, वीरपाड़ा चौपती, दमनपुर बाईपास अनि बारोबीसामा वीर बिरसा मुण्डाको मूर्ति स्थापना गरिइने बताए। संगठनका सभापति राजेश लाकड़ाको नेतृत्वमा नै यी पाँचवटा स्थानहरूमा मूर्ति स्थापित गरिनेछ। वीर बिरसा मुण्डाको मूर्ति स्थापना गर्नुभन्दा अघि डुवर्सभरिकै प्रत्येक घर-घरमा गएर एकमुट्ठी माटो पनि सङ्ग्रह गरिने तिनले बताए। यदि कोही व्यक्ति मूर्ति निर्माणको निम्ति आर्थिक सहयोग गर्न इच्छुक छन् भने स्वेच्छाले एक रुपियाँदेखि नै सहयोग गर्नसक्ने पनि रञ्जित लाकड़ाले बताए।
यसैबिच, लाकड़ाले जब कुनै नानीको जन्म भएको केही दिनमा नै जन्म प्रमाण-पत्र दिइन्छ ठिक त्यस्तै प्रकारले आदिवासी सम्प्रदायका नानीहरुलाई जन्मपछि नै जनजाति प्रमाण-पत्र दिनुपर्ने माग पनि गरे। यस मागलाई लिएर आगामी दिनमा संगठनको तर्फबाट आन्दोलन गरिनेसमेत तिनले बताए।
चियाबारीको स्थानीय समस्याहरुको समाधानको निम्ति आदिवासी समुदायलाई एकजुट हुन आह्वान गर्दै लाकड़ाले यसका लागि आन्दोलनका कार्यक्रमहरू पनि बनाइने जानकारी दिए। यस दिन संगठनका मदारीहाट ब्लक सभापति वीरू लोहार, उप-सभापति पदम उराँवसहित करण ग्वाला पनि उपस्थित थिए।

5.
मंगलवार विहान प्रायः 6.15 बजीतिर अलिपुरद्वारदेखि सिलगढ़ीगामी इन्टरसिटी एक्सप्रेसको धक्का लाग्दा एकजना महिलाको मर्मान्तिक मृत्यु भयो।
प्राप्त जानकारी अनुसार डिमा चियाबारीको बिचलाइन बासिन्दा कैलाशपति तेली उमेर 58 बर्ष आज बिहानीपख रेल लाइन पार गरेर दिसा बस्न गएकी थिइन् भने सोही क्रममा कालचिनी राजाभातखावा रोड पार गरेर रेल लाइन पार गर्दा अचानक तीव्र गतिमा कालचिनी रेलवे स्टेशन प्रवेश गरिरहेको इन्टरसिटी एक्सप्रेसको धक्का लाग्दा उनी उछिट्टिएर सड़कमा बजारिन पुगिन्। घटनास्थलमै उक्त महिलाको मृत्यु भयो।
प्रत्यक्षदर्शीहरुले घटनाको जानकारी पुलिसलाई दिएपछि घटनास्थलमा कालचिनी थानाको पुलिस पुगेर शवलाई उद्धार गरी पोस्टमोर्टमको निम्ति अलिपुरद्वार पठायो।
उपरोक्त घटना सम्बन्धमा मृतक महिलाको छोरा शिवशङ्कर तेलीले आमा कमानको कामबाट रिटायर्ड भएको 9 दिन मात्र पुगेको जनाउँदै कान नसुन्ने भएकोले आज दिसा बस्न जाँदा यस्तो घटना भएको बताए।

https://youtu.be/KqkFWeq1mLI

Leave a Reply

Your email address will not be published. Required fields are marked *