राष्ट्रिय राजमार्ग १० खोल्नु चार दिन समय लाग्ने सम्भावना। सेनालाई सड़क मरम्मतको निम्ति उतारे मात्र चाँड़ै राजमार्ग खोल्न सकिने स्थानीय मानिस एवं वाहन चालकहरूको भनाइ। सिक्किमको जीवनरेखा मानिने राजमार्ग १० भुइँचले नजिक ११ माइलमा बुधबार राति टिस्टा नदीले तलबाट तानेपछि उत्तर बङ्गालदेखि सिक्किम जोड़िने राजमार्ग १० नै विच्छिन्न बन्नपुगेको छ। सडक नै चुँडिएर तल झरेपछि बिहीबारदेखि पीडब्लुडी विभागले दुइवटा मशिन लगाएर भित्ता काट्ने काम शुरु गरेको छ भने राजमार्ग १० तलबाट टिस्टा नदीले तानेको कारण राजमार्ग १० खोल्नु अझै चार दिन जति समय लाग्ने सम्भावना रहेको बताइँदैछ। सडक पूर्णरूपले बन्द भएको कारण दुइचक्के वाहनसम्म गुड्न सकेको छैनन्। यस राजमार्गलाई मरम्मत गर्न भारतीय सेनालाई लगाए मात्र चाँडो बनिन सक्ने स्थानीय मानिस एवं वाहन चालकहरूको भनाइ छ।