दार्जीलिङ नगरपालिकामा दैनिक हाजिरामा कार्यरत् ७५ जना कर्मचारीहरुलाई स्थायीकरणको मागमा गोजमुमो महासचिव अनि युमो अध्यक्षले भेटे शहरी विकास मन्त्रीलाई। स्थायीकरणको प्रक्रिया शुरू गरिसकेको मन्त्रीले दिइन् टोलीलाई जानकारी। गोर्खा जनमुक्ति मोर्चाको एउटा प्रतिनिधि टोलीले शहरी विकास मन्त्री चन्द्रिमा भट्टाचार्यसँग भेट गरेर दार्जीलिङ नगरपालिकामा दैनिक हाजिरामा काम गर्ने ७५ जना कर्मचारीहरुलाई स्थायीकरण गरिनुपर्ने विषयमा कुरा राख्यो। स्मरण रहोस्, गत जून महिनामा पनि गोर्खा जनमुक्ति मोर्चाको एउटा प्रतिनिधि टोलीले मन्त्रीलाई भेटेर ती कर्मचारीहरुलाई स्थायीरण गरिनुपर्ने माग गरेको थियो। शुक्रबार पुनः यस विषयमा कुराकानी गर्दा मन्त्री भट्टाचार्यले दैनिक हाजिरामा काम गर्ने कर्मचारीहरुलाई स्थायीकरण गरिने प्रक्रिया शुरू गरिने बताइन्। युमो अध्यक्ष प्रकाश गुरुङले यस पहलको निम्ति मन्त्री भट्टचार्यप्रति आभार व्यक्त गर्दै कर्मचारीलाई पनि बधाई एवम् शुभकामना टक्राएका छन्। प्रतिनिधि टोलीमा युमो अध्यक्षको साथमा महासचिव रोशन गिरी पनि उपस्थित थिए।