बाबुल सुप्रियो टीएमसीमा सामेलपछि देखिएका दृश्यहरू। लोकसभा सदस्यबाट राजीनामा दिनुपर्ने स्थितिसितै टीएमसीले सुप्रियोलाई राज्यसभामा पठाउनसक्ने सम्भावना। अर्पिता घोषले राजीनामा अथवा कारण जेसुकै भए पनि आखिर बाबुल सुप्रियो टीएमसीमा प्रवेशपछिका अनुमानहरूलाई कति हद्सम्म भने नकारिहाल्न नमिल्ला। हिमालयन नेटवर्कको विशेष कार्यक्रम सरोकार-मा यहाँहरूलाई स्वागत छ…. हालै तृणमूल कंग्रेसकी राज्यसभा सांसद अर्पिता घोषले राजीनामा दिएकी थिइन्। तिनको राजीनामा र बाबु सुप्रियोको टीएमसीमा प्रवेशको घटनाक्रमलाई राजनैतिक पर्यवेक्षकहरूले जोड़ेर हेर्दैछन्। यता, तृणमूल कंग्रेसमा भाजपाका सांसद बाबुल सुप्रियो सामेल भएका छन्। उनी आसनसोलका लोकसभा भाजपा सांसद हुन्। जब सुप्रियो टीएमसीमा सामेल भइसकेका छन्, यस्तो स्थितिमा उनीमाथि दल परिवर्तनको कानून लागू हुनसक्छ। उनलाई लोकसभा सदस्य एवं पदबाट राजीनामा दिनुपर्ने अवस्था आउन सक्छ। यस्तो परिस्थितिमा बाबुल सुप्रियोलाई टीएमसी-ले राज्यसभामा पठाउन सक्ने अनुमान लगाइँदैछ। सुनिँदैछ, अर्पिता घोषले राजीनामा यसै कारणले दिएकी हुनुपर्छ। कुनै हेभीवेट नेता सामेल हुने भएकाले र जसलाई राज्यसभामा पठाउनुपर्ने स्थिति आउनसक्छ भन्ने पार्टीपक्षबाट उनलाई निर्देश दिइएको पनि हुनसक्छ। कारण जे नै भए पनि आखिर बाबुल सुप्रियो टीएमसीमा प्रवेश गरेपछि माथि लगाइएका अनुमानहरूलाई त्यसै नकारिहाल्न भने मिल्दैन। भाजपा सांसद तथा पूर्व केन्द्रिय मन्त्री बाबुल सुप्रियो शनिवार तृणमूल कंग्रेसमा सामेल भए। उनले गत केही दिनअघि मात्र राजनीति छोड्नेसमेत घोषणा गरेका थिए। टीएमसी राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जी अनि राज्यसभा सांसद डेरेक ओ ब्रायनको उपस्थितिमा पूर्व केन्द्रिय मन्त्री एवं वर्तमान सांसद बाबुल सुप्रियो तृणमूल कंग्रेसमा सामेल भए। उल्लेखनीय छ, गत महीना सुप्रियोले राजनीति छोड्ने घोषणा गरेपछि उनलाई लोकसभाको सदस्यताबाट राजीनामा नदिनका लागि मनाइएको थियो। त्यसबेला उनले अब सक्रिय राजनीतिको अंश नबन्नेसम्म बताएका थिए। भाजपा अध्यक्ष जेपी नड्डासित भेट गरेपछि पत्रकारहरूसित आसनसोलका सांसद बाबुलले आफू एक सांसदको रूपमा आफ्नो संवैधानिक जिम्मेवारीहरूको निर्वाहलाई जारी राख्ने जनाउँदै तर राजनीतिबाट टाढ़ै रहने बताएका थिए। यसका साथै उनले राजधानीमा भएको आफ्नो आधिकारिक आवाससमेत खाली गर्ने कुरा गरेका थिए। यसैबिच, अर्पिता घोषलाई भने तृणमूल कंग्रगेसले बंगाल इकाइकी महासचिव बनाइदिएको छ। यसको दुइ दिनअघि नै राज्यसभाका सभापतिले उनको राजीनामा स्वीकार गरेका थिए। विश्वस्त सूत्रबाट थाहा लागे अनुसार राजीनामा दिने अर्पिताको फसेला पार्टीको शीर्ष नेतृत्वहरूसित विचार-विमर्श गरेपछि नै लिइएको हो अनि यो उनीमाथि थोपिएको निर्देश होइन। आखिर जे नै भए पनि, बाबुल सुप्रियोले टीएमसी प्रवेश गरेपछि उनलाई पार्टीले कुनै पद वा ओहोदा त पक्कै दिएरै राख्ने हो। सुप्रियो टीएमसी-का राज्यसभा सांसद बन्ने हुन् कि अरू नै केही पदमा विराजमान हुने हुन्, त्यो त समयले नै बताउला।