सांसदको अपमानसितै उत्तेजना फैलाएको आरोपमा भाजपाद्वारा भारती गूट विरुद्ध प्राथमिकी दर्ता। जिल्ला भाजपा अध्यक्ष कल्याण देवानले दिए यसको जानकारी।
सांसद राजु विष्टको पुतलामा जुत्ताको माला लगाएर दार्जीलिङ शहर घुमाउने गोर्खालीग भारती गूटका नेतृत्वहरूविरुद्ध भारतीय जनता पार्टीले दार्जीलिङ सदर थानामा प्राथमिकी दर्ता गरेको भाजपा दार्जीलिङ जिल्ला अध्यक्ष कल्याण देवानले बताए। अध्यक्ष देवान अनुसार भारती गूट गोर्खालीग महासचिव एसपी शर्मा अनि उपाध्यक्ष विक्रमादी राई विरुद्ध प्राथमिकी दर्ता गरिएको हो।
उल्लेखनीय छ, गत सोमबार गोर्खालीग भारती गूटले कुर्सीमा सांसद विष्टको पुतला राखेर जुत्ता-चप्पलको माला लगाएर दार्जीलिङ शहरको परिक्रममा गराएको थियो। यसै विषय लिएर भाजपा अध्यक्ष देवानले उक्त कार्यलाई निन्दनीय र अशोभनीय भन्दै भाजपाले यस्ता कार्यको घोर भत्सर्ना गर्ने बताए। स्थायी राजनैतिक समाधानका लागि त्रिपक्षीय वार्ताको ढोका खोलिएको समय जसले सांसद राजु विष्टको पुतलामा जुत्ता-चप्पलको माला लगाएर घुमाए, उनीहरूले त्रिपक्षीय वार्ता नचाहेको पनि देवानले बताए।