गोजमुमो अध्यक्ष विमल गुरुङ महानदी, सिविटार, शिवखोला हुँदै पुगे नरबुङ चियाबारी। नरबुङ पुगेर पार्टी कार्यकर्ताहरूलाई गरे सम्बोधन। क्षेत्रको बाटो निर्माणप्रति असन्तुष्टि व्यक्त गर्दै लगाए आरोप।
गोर्खा जनमुक्ति मोर्चाका संस्थापक अध्यक्ष बिमल गुरुङले खरसाङ महकुमा अन्तर्गत महानदी, सिविटार, शिवखोला र नरबुङ क्षेत्रको भ्रमण अवधिमा नरबुङ पुगेर पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गरे। 2017 मा जुन स्थिति भोगेर आएको थिएँ त्यतिबेला म एक्लै थिएँ तर आज तपाईंहरू सबै हुनुहुन्छ, मसित साढ़े तीन वर्षसम्म कोही थिएन तर अहिले साढ़े तीन वर्षपछि फेरि सबैसित भेटघाट शुरु भएको विमल गुरुङले बताए। उनले ढाँटेर, लुकाएर राजनीति गर्नु राम्रो होइन भनी बताए। उनले यस क्षेत्रको बाटो आफूले 2014 -मै हालेको तर चार वर्षपछि पास भएको जनाउँदै बाटो जुन प्रकारले बनिँदैछ त्यो हेर्दा 6 महिना मात्र खप्ने दावीसमेत गरे। नरबुङको सार्वजनिक भवन पनि सोचनीय अवस्थामा पुगिसकेको तिनले बताए। अहिले म मेरो जातीय अस्मिताको लागि, मेरो छोराछोरीको लागि काम गर्दैछु भनी गुरुङले बताए।