मिरिकसहित दार्जीलिङ, खरसाङ, कालेबुङमा गोरामुमोमा पैह्रो जाने क्रम जारी। आउँदो दिनमा गोरामुमोबाट मात्र होइन, विभिन्न दलका कार्यकर्ताहरूले टीएमसीमा सामेल हुने दार्जीलिङ अनि कालेबुङ जिल्लाका टीएमसी चेयरमेन एलबी राईले गरे ठोकुवा।
मंगलबार मिरिकमा दार्जीलिङका विधायक निरज जिम्बाले गत १९ सेप्टेम्बरको दिन मिरिकमा केवल पाँचजनाले मात्र गोरामुमो त्यागेर टीएमसीमा सामेल भए भनी दिएको बयानप्रति खण्डन गर्दै हिल टीएमसी चेयरमेन एलबी राईले पाँचजनाको नेतृत्वमा गोरामुमो समर्थकहरु टीएमसीमा आएका हुन् भनी बताए। त्यहाँ अन्य समर्थकहरू कति आए भन्ने कुरो मलाई थाहा छ। समर्थन गर्नेहरू सबै मिरिककै थिए र म सबैलाई चिन्छु, तिनले भने। आगामी दिनमा मिरिकको तल्लो भेल्लीबाट टीएमसीमा समर्थन गर्नेछन्, त्यसबेला पनि उनीहरूले हेरून्। सम्पूर्ण पहाडभरि नै विभिन्न दलहरू त्याग गर्दै टीएमसीमा सामेल भइरहेछन् भने आउँदो आइतबार सौरेनीमा पनि गोरामुमो समर्थकहरूलाई लिएर सभा हुने राईले बताए। गोरामुमो समर्थकहरू टीएमसीमा आउन इच्छुक रहेको बताउँदै राईले यदि मिरिकमा आइतबार ढिस्कना मात्र गएको थियो भने लगत्तै सोमबार गोरामुमोका शीर्ष नेतृत्वहरू मिरिक आउने के काम भन्दै प्रश्न पनि तेर्साए। आउँदो दिनमा गोरामुमोबाट मात्र होइन, विभिन्न दलका कार्यकर्ताहरूले टीएमसीमा सामेल हुने राईले ठोकुवासमेत गरे।