मिरिकमा दुइ दिवसीय हस्तशिल्प प्रदर्शनी एवं मेलाको उदघाटन। नगरपालिका अध्यक्षद्वारा गरियो उदघाटन। सरकारी सहूलियत उपलब्ध गराइनेतर्फ यथाशक्य सहयोग पुऱ्याउने एलबी राईले दिए आश्वासन। मिरिक नगरपालिका वार्ड नम्बर पाँच कृष्णनगरका सक्रिय महिलाहरूको समाजिक संस्था मिरिक टाउन कम्युनिटी वेलफेयर सोसाइटीले शनिवारदेखि मिरिक ब्यवसाय संगठन भवनमा दुइ दिवसीय हस्तशिल्प प्रदर्शनी अनि मेलाको आयोजना गऱ्यो। यसको उदघाटन मिरिक नगरपालिका अध्यक्ष एलबी राईले रिबन काटेर गरे। यस अवसरमा मिरिक महकुमाका डीएमडीसी मृदुल श्रीमणी, नगरपालिका उपाध्यक्ष एमके जिम्बा, नगर पार्षद्हरू पुनम विश्व, सन्तवीर तामाङ , बनिता राई, ममता सुब्बा आदि उपस्थित थिए। सोसाइटीका अध्यक्ष मृदुला बमजन, सचिव गोमा छेत्री आदिले मिरिक नगरपालिका क्षेत्रका विभिन्न स्वनिर्भर दल, संघ-संस्था अनि ब्यक्तिहरूले सृजना गरेका सामग्रीहरू प्रदर्शनी अनि बिक्रीमा राखिएको जनाए। शनिवार र आइतबार गरी दुइ दिवसीय हस्तकला प्रदर्शनी हुने उनीहरूले बताए। यस अवसरमा बोल्दै मिरिक नगरपालिका अध्यक्ष एलबी राईले मिरिक आज हरेक क्षेत्रमा अग्रसर बनिरहेको जनाए। उनले नगरपालिकाको पक्षबाट हस्तशिल्प अन्तर्गत स्वनिर्भर तथा स्वरोजगारका लागि यथाशक्य सहयोग गर्ने बताए। यसका लागि राज्य सरकारबाट प्राप्त सहूलियतहरू पनि उपलब्ध गराउनेतर्फ आफूले कार्य गर्ने राईले बताए।