स्कूल फी विषय अभिभावक मञ्च अनि स्कूल कर्तृपक्षलाई लिएर जेडीए प्रतिनिधिहरूबिच बस्यो बैठक। बैठक निष्कर्षहीन टुंगियो। समस्या सुल्झ्याउन आगामी दिनमा डीआई-को उपस्थितिबिच जेडीए-ले फेरि राख्नेभयो बैठक। भारत-भोटाङ सीमान्त शहर जयगाउँमा रहेका विभिन्न निजी विद्यालयहरूद्वारा तोकिएको स्कूल फी सम्पूर्ण रुपमा तिर्न नसकिने अभिभावक मञ्चको दाबी र अर्कोतिर स्कूल एसोसिएशनका प्रतिनिधिहरुले स्कूल फी जमा नहुञ्जेल स्कूलको पढ़ाई निरन्तर राख्न नसक्ने अवस्था भइरहेको भनाइबिच देखिएको विवादबारे बुधवार जेडीए कार्यालयमा स्कूल कर्तृपक्ष र अभिभावकहरूलाई लिएर एउटा सामञ्जस्य बैठक सम्पन्न भयो। बैठकमा जेडीए चेयरम्यान गङ्गा प्रसाद शर्मा लगायत तृणमूल कालचिनी ब्लक सभापति पासाङ लामा र जेडीए एईओ भूषण शेर्पा एवम् अन्यान्यको उपस्थितिमा धेरै लामो छलफल भए पनि दुवै पक्षको निर्णायक फलाफल भने केही निस्कन सकेन। तथापि, दुवै पक्षलाई राखेर समस्या समाधानको निम्ति फेरि आगामी दिनमा डीआईको उपस्थितिमा बैठक गरिने निर्णय लिइएको जेडीएका एईओ भूषण शेर्पाले बताए। तृणमूल कालचिनी ब्लक सभापति पासाङ लामाले स्कूलको पढ़ाई र परीक्षाबाट फी नदिएको भनेर कुनै पनि विद्यार्थीहरूलाई वञ्चित नगर्न स्कूल कर्तृपक्षसमक्ष अनुरोध गरे भने स्कूल फी-मा 50 प्रतिशत छूट दिइनुपर्ने अभिभावक मञ्चबाट कुरा राखियो। विगत एक बर्षदेखि कोरोना महामारीको कारण भोटाङ गेट बन्द र बजार व्यवसाय सबै ठप्प बनेकोले अभिभावकहरुमा स्कूलको फी सबै तिर्नसक्ने क्षमता नरहेको र महामारीले गर्दा स्कूल बन्द भएपछि त्यसको फी समावेश गर्न नपाइने कुरा बैठकमा राखियो। बैठकमा डीआईको उपस्थिति नरहेकोले कुनै निर्णय लिन सकिएन। आगामी दिनमा फेरि एउटा बैठक गरेर समस्या सुल्झाउने प्रयास गरिने जेडीए चेयरम्यान गङ्गा प्रसाद शर्माले बताए।