कहिले होला बन्द बन्दापानी चियाकमानमा पिउने पानीको समस्या समाधान? विधानसभा चुनाउअघि दुइवटा पीएचई निर्माण कार्य शुरू गराइए पनि हाल आएर यी दुवै प्रकल्प निर्माण कार्य भएको छ स्थगित। आखिर कहिले पूरा होला बन्दापानीको पीएचई प्रकल्प निर्माण कार्य? मदारीहाट खण्ड अन्तर्गत बन्दापानी चियाकमान वर्ष 2013 देखि बन्द छ। यस कमानका मानिसहरू पिउने पानीको समस्याले पिरोलिएका छन्। कमानवासीले राज्य सरकारको पक्षबाट बाटो, सानो पुल तथा अन्य सहुलियतहरू पाए पनि पार्ट नम्बर 14/4 अनि 14/5 -मा भने पानीको उपयुक्त स्त्रोतको व्यवस्था नभएकोमा कमानका स्थानीय केही मानिस अनि शिक्षित युवा जमातले गत वर्ष 2020-को अक्टोबर महिनामै पिउने पानीको निम्ति आवाज उठाएका थिए। सोही अनुरूप सरकार पक्षबाट विधानसभा चुनाउअघि दुइवटा पीएचई निर्माण कार्य शुरू गराइए पनि तर हाल आएर यी दुवै प्रकल्प निर्माण कार्य स्थगित छ। पानीको धारा छोड्नमा ढिल्याइँ भएकोले नवगठित तथा पञ्जीकृत डुवर्स सोसियल एण्ड स्पोर्टिङ क्लब अनि साधारण मानिसहरूले सरकार पक्षलाई चाँडोभन्दा चाँडो पीएचईबाट पानी उपलब्ध गरिदिने अनुरोध गरेका छन्। डुवर्स सोसियल एण्ड स्पोर्टिङ क्लबका अध्यक्ष तिलक थापाले बन्दापिनीको 8 सय परिवार पिउने पानीबाट वञ्चित रहेको बताए। मानव जीवनमा अति महत्त्वपूर्ण पिउने पानीको व्यवस्थाप्रति सम्बन्धित निकायसमक्ष ध्यानाकर्षण गराइँदै आइरहेको जनाउँदै यसको व्यवस्था चाँडोभन्दा चाँडो हुनुपर्ने माग पनि तिनले गरे। क्लबका सचिव कुनाल थापाले कमानका वृद्धदेखि ससाना विद्यार्थीहरू समेत पिउने पानीको जोहो गर्न एकाबिहानै भोटाङ सीमा नजिक जानुपर्ने वस्था रहेको पनि बताए।