बंगालमा फेरि गर्मियो चुनावी परिवेश। भवानीपुर उप-चुनाउ प्रचारमा पुलिसले रोक लगाएको भाजपाको आरोप। भाजपाको आरोपलाई प्रशासनले निराधार बताउँदै दियो आफ्नो स्पष्टिकरण। पश्चिम बंगालमा एकचोटि पुन: भाजपा अनि तृणमूल कांग्रेसबिच चुनावी माहौल गर्मिएको छ। भवानीपुर उप-चुनाउमा भाजपाले मुख्यमन्त्री ममता ब्यानर्जी विरूद्ध प्रियंका टिबरेवाललाई चुनावी मैदानमा उतारेर चुनावी युद्धलाई रोचक बनाएको छ। बुधवार भाजपाले मुख्यमन्त्री ममता ब्यानर्जीको आवासछेउ प्रचार गर्न नदिएको आरोप लगायो। उक्त विषयलाई लिएर भाजपा प्रदेश अध्यक्ष सुकान्त मजुमदारले ममता ब्यानर्जी आवासतर्फ जाने हरीश च्याटर्जी स्ट्रीटमा तिनलाई चुनावी प्रचार गर्न रोकिएको बताए। तृणमूल कंग्रेसलाई 30 सेप्टेम्बरमा सम्पन्न हुने चुनाउमा पराजितको डर रहेको कारण पुलिसले भाजपालाई प्रचार गर्न रोकेको पनि तिनले आरोप लगाए। यता, पुलिस उपायुक्त (दक्षिण) आकाश मघारियाले भाजपाका आरोपहरूलाई खारेज गर्दै उनीहरूको साथमा टीकाकरण प्रमाण-पत्र नभएको अनि उच्च सुरक्षा क्षेत्रमा प्रवेश गर्ने कोशिश गरेको कारण नै उनीहरूलाई अर्को सड़कमा गएर प्रचार गर्ने बताइएको जनाए।