• Sat. May 10th, 2025

दुर्घटनालाई निम्तो दिँदै बक्साफोर्टका कल्भर्टहरू, कसैको ध्यान नपुगेको जनगुनासो

Byadmin

Sep 24, 2021

ठूलै दुर्घटना पर्खेर बसेका छन् बक्साफोर्ट संलग्न दुइ काठका कल्भर्टहरू। विभिन्न निवेदन-पत्रहरू बुझाइए पनि अहिलेसम्म कसैको ध्यान यी कल्भर्टहरूमा नपरेको स्थानीय मानिसहरूको गुनासो। कोरोना महामारीमा केही राहत भइरहेको स्थिति अनि डुवर्सको पर्यटन वृद्धि देखिएका सम्भावनाहरूलाई प्रत्येक होमस्टे, लज र टूर अपरेटरहरूलाई भ्याक्सिन लगभग दिइसकेकोले हाल डुवर्समा पर्यटन व्यवसाय मौलिइँदै गइरहेको देखिन्छ। यसैबिच, डुवर्सको कालचिनी खण्ड अन्तर्गत पर्ने अलिपुरद्वार जिल्लाको एक ऐतिहासिक हिल स्टेशन बक्साद्वारमा कलकत्ता एवं बाहिरका पर्यटकहरूको आगमन विस्तारै शुरू भएको छ। तर ऐतिहासिक औ प्रसिद्ध बक्साद्वार पर्यटकीय स्थलको केन्द्रबिन्दु बक्साफोर्ट संलग्न रहेका दुइवटा काठको कल्भर्ट भने अहिलेघरि सोचनीय अवस्थामा पुगेक छन्। स्थानीय मानिसहरूदेखि लिएर बक्सा घुम्न आउने पर्यटकहरूलाई समेत कल्भर्ट भएर बक्साद्वार आउजाउ गर्न जोखिम बन्दै गइरहेको छ। विगत 6-7 महिना अघिदेखि यी दुवै काठका कल्भर्टहरूको अवस्था दिन प्रतिदिन जीर्ण हुँदै गइरहेको र काठ मक्किएर कल्भर्ट नै झर्नलागेको स्थितिबारे बन विभाग, ग्राम पञ्चायत एवम् सम्बन्धित निकायहरूसमक्ष गाउँलेहरूले निवेदन गर्दै कल्भर्ट मरम्मतिका लागि बिन्ती टक्र्याए तापनि आजसम्म दुवै कल्भर्ट मरम्मति नभएको बक्साद्वारका बासिन्दाहरू गुनासो पोख्छन्। बक्साद्वारको एउटा स्थानीय गैर-राजनैतिक संस्था बक्सा विकास अभियानको पक्षबाट पनि अलिपुरद्वार जिल्लाशासक लगायत कालचिनी बीडीओसमक्ष दुवै कल्भर्टका मरम्मति गरिदिने ज्ञापन सुम्पिएको तर आजसम्म यसमाथि कुनै पहल नभएको स्थानीय विकास थापाले बताए। गत केही दिनअघि मात्र उक्त कल्भर्ट पार गर्नलाग्दा लड़ेर एउटा गोरुको खुट्टा भाँच्चिएको र पछि उक्त गोरुको मृत्यु भएको पनि थापाले बताए। अब पर्यटकहरू धमाधम बक्सा घुम्न आउने समयमा फोर्ट प्रवेश गर्नुभन्दा अघिको कल्भर्ट र प्रसिद्ध लाप्चाखा टुरिस्ट् पोइन्ट घुम्न जाने बाटोबिच पर्ने कल्भर्टले ठूलै दुर्घटना कुरेर बसेको प्रतीत हुँदछ। गाउँलेहरू त जसोतसो जोगिएर हिँड़्छन तर बाहिरका पर्यटकहरु कस्मात यदि उक्त कल्भर्टमा दुर्घटनाग्रस्त भए पर्यटकहरुको ज्यान पनि जानसक्ने आशङ्का व्यक्त गर्छन् स्थानीय मानिसहरू।

Leave a Reply

Your email address will not be published. Required fields are marked *