दर्के पानी र हावा-हुण्डरीले स्वाहा बनायो धान खेती। पश्चिम सिक्किमको लोवर सरदोङ, लुङ्जिङ, सल्ले, पार्बोक, बिरिबुङ लगायतका गाउँहरूमा पाक्न लागेको धान खेती भयो सोत्तर। खेतीबाट राम्रो उत्पादन हुने मऱ्यो कृषकहरूको आशा। निकै दिनसम्म भतभती पोल्ने घामपछि अचानक परेको दर्के झरीले धान खेती स्वाहा बनाएको छ। धानको बाली थन्क्याउने ठिक अघि आएको दर्के झरीले धान खेतीलाई व्यापक नोक्सानी पुर्याधएको छ। सोमवार रातिको मुसलधारे पानी र हावा-हुण्डरीले पश्चिम सिक्किमको लोवर सरदोङ, लुङ्जिङ, सल्ले, पार्बोक, बिरिबुङ गाउँ लगायतका गाउँहरूमा लहलह पाक्न लागेको धान खेती सोत्तर पारिदिएको छ। यसपालिको धान खेतीले आफूहरूको हुनसम्मको नोक्सान भएको बताउँछन् स्थानीय कृषकहरू। आफ्नो खेती यसरी नष्ट भएकोले भोक र निन्द्रा दुवै हराएको गुनासो पोख्छन् कृषकहरू। यो समय धानले फुल्ने समय हो तर लगातार परेको झरीले धानको फूललाई क्षतिग्रस्त पारिदिएपछि कृषकहरूले अब राम्रो उत्पादनको आशा मारिसकेका छन्। पश्चिम सिक्किमका धेरैजसो ठाउँका कृषकहरुले धान खेती गरेर आफ्नो जीविकोपार्जन गर्ने गर्दछन्। रहरलाग्दो र रमाइलो दृश्य देखिने धान खेती गर्न सजिलो छैन। खेती गर्नको निम्ति दक्ष मजदूरहरूको खाँचो पर्दछ, तर फसल उठाउने बेलामा प्राकृतिक प्रकोपले फसल स्वाहा पारिदिँदा कृषकहरूलाई पर्नसम्मको पीर परेको देखिन्छ।