निक्कै अघिबाटै चर्चा, रहस्य, कौतुहलता र जिज्ञासाबिच झेलिएको त्रिपक्षीय वार्ता फलरहित, बेटुङ्गोको, हलुङ्गो मात्र होईन तर उत्तिकै हास्यस्पद तरिकाको समापन भएको छ, वार्तामा बंगाल सरकारको तर्फबाट कुनै गत्तिलो प्रतिनिधीको उपस्थिति रहेन। शुरुवातबाट नै भनिन्दै आईरहेको त्रिपक्षीय वार्ता, अन्तमा गएर वार्ता जस्तो कुनै पनि दिशाबाट देखिएन, पहाडका गोर्खा प्रतिनिधिहरु आफ्नो समस्या लिएर सरकार समक्ष बिन्ती बिसाउन गएको अनि सरकारले सहानुभुतिपुर्वक विचार गरिनेछ भन्ने आश्वासनपछि यतिमै पहाडबाट गएका गोर्खा प्रतिनिधि अनि केन्द्र सरकारबिचको कुराकानी समेटिएको भान भयो। वार्तामा भाजपा नेता अनि गठबन्धनकै नेतृत्वहरुलाई मात्र निम्त्याईएको भए पनि बैठकको ठिक अघि मात्र सांसद राजु विष्टले गोर्खा समुदायका केही बौद्धिक व्याक्तित्वहरुसँगको भेटघाटले केही थप जिज्ञासा थपिएको थियो ।