- नाबालिकामाथि दुष्कर्मको घटनामा पुलिसद्वारा एकजना युवक पक्राउ। आरोपीलाई भोलि अलिपुरद्वार जिल्ला अदालत पठाइने पुलिसको जानकारी। दुष्कर्म गर्ने युवक विरुद्ध प्रशासनले कड़ा पदक्षेप लिनुपर्ने पीड़िताकी आमाले गरिन् माग।
- मालबाजार सुपर स्पेशियलिटी अस्पतालमा गरियो नानीहरुको निम्ति बेडको संख्यामा बढ़ोत्तरी। प्रतिदिन सयभन्दा धेर नानीहरु आइरहेछन् उपचारको निम्ति ओदलाबारी ग्रामीण स्वास्थ्य केन्द्र। अभिभावकहरूलाई नानी बिमार हुनेबित्तिकै नडराई अस्पताल लैजाने माल ब्लकका बीएमओएच-ले दिए सुझाउ।
- करम पूजा विसर्जनको मञ्च अनि पाण्डाल तोड़फोड़ गरिएको प्रतिवादमा डायना खोला करम पूजा आयोजक कमिटी लगायत आदिवासी समुदायका मानिसहरूले गरे राष्ट्रिय राजमार्ग ३१-मा आएर पथ अवरोध। मुख्यमन्त्री ममता ब्यानर्जीले आदिवासीलाई अन्याय गरेको केन्द्रिय मन्त्री जोन बारलाको आरोप।
- सेन्ट्रल डुवर्स युवा मञ्चको आयोजनामा निःशुल्क आँखा जाँच शिविर। हात्तीमारा र पाना डिभिजनमा राखिएको थियो शिविर। 55 जनालाई निःशुल्क चश्मा गरियो वितरण भने मोतियाविन्दु अपरेशनको निम्ति 30 जनालाई गरियो छनौट। 300 जनाले उठाए शिविरको लाभ।
- कालचिनी ब्लक तृणमूल सभापति पासाङ लामालाई सम्वर्द्धना। पार्टी जिल्ला कार्यालयमा जनाइयो सम्वर्द्धना। जयगाउँ मर्चेन्ट एसोसिएशनद्वारा पनि लामा सम्वर्द्धित।
अब खबर विस्तारमा………
1.
शुक्रवार करम पूजाको साँझ एकजना युवकले आफ्नो एकजना साथीसित कालचिनी थाना अन्तर्गत पर्ने एउटी नाबालिकालाई जबरजस्ती फोन कल गर्दै बोलाएर कमानको 10 नम्बर सेक्सनमा लगेर दुष्कर्म गरेपछि अनि सँगै रहेको अर्को साथीले पनि दुष्कर्म गर्न खोज्दा चिच्याएर घरतर्फ भागेकी नाबालिकाले जब परिवारलाई सबै कुरा बताएपछि घटना प्रकाशमा आयो। कालचिनी थानामा उक्त दुष्कर्म गर्ने युवक विरुद्ध पीड़ित नाबालिकाको परिवारले एउटा प्राथमिकी दर्ता गऱ्यो।
उक्त अभियोगको आधारमा कालचिनी पुलिसले आरोपी युवक बाबलु उराँव मेचपाड़ा 2 नम्बर लाईन निवासीलाई पक्राउ गरेको छ भने भोलि सोमवार आरोपीलाई अलिपुरद्वार जिल्ला अदालतमा पठाइने अनि पीड़िता नाबालिकालाई प्राथमिक स्वास्थ्य जाँचको निम्ति अस्पताल पठाइएको पुलिस सूत्रले जनाएको छ।
पीड़िताकी आमाले नाबालिक छोरीलाई करम पूजाको राति कमानको सेक्सनमा बोलाएर दुष्कर्म गर्ने युवक विरुद्ध प्रशासनले कड़ा पदक्षेप लिनुपर्ने माग गरेकी छन्।
2.
माल महकुमाका विभिन्न क्षेत्रहरुमा नानीहरु अज्ञात बिमारले पीड़ित भइरहेछन् भने कति नानीहरु स्वस्थ भएर अस्पतालबाट घर फर्किसकेका पनि छन्।
वर्तमान स्थितिलाई ध्यानमा राख्दै मालबाजार सुपर स्पेशियलिटी अस्पतालमा नानीहरुको निम्ति बेडको संख्या बढ़ाइएको छ। यसभन्दा अघि अस्पतालमा केवल ३५ वटा बेड थियो भने वर्तमानमा बढाएर ५० गरिएको छ।
शुक्रवार रातिसम्म मालबाजार सुपर स्पेशयलिटी अस्पतालमा प्राय: ६५ नानीहरू सर्दी, खोकी अनि ज्वरोको कारण भर्ती भएका थिए, जसमा १५ जना स्वस्थ भएर घर फर्किएका छन्।
अर्कोतिर केही दिनदेखि ओदलाबारी ग्रामीण स्वस्थ्य केन्द्रको आउटडोरमा प्रतिदिन लगभग सयभन्दा धेर नानीहरु उपचारको निम्ति आइरहेको देखियो। शनिवार बिहान पनि आउटडोर अघि धेरै संख्यामा नानीका आमाहरू आफ्ना नानीहरूलाई लिएर लाइनमा उभिएका थिए।
यस सम्बन्धमा माल ब्लकका बीएमओएच प्रियाङ्कु जानाले स्वास्थ्य विभागको एउटा टोली शुक्रवार कलकत्तादेखि जलपाइगड़ी आएको बताए। नानीहरुको निम्ति स्वास्थ्य विभागको टोलीले केही परामर्श दिएको र आफूहरूले शुक्रवार राति नै स्वास्थ्य कर्मीहरुलाई घर-घरमा गएर भ्रमण गरी रिपोर्ट तयार गर्ने निर्देश दिइसकेको तिनले बताए। यदि कुनै नानीलाई बिमार भेटिए अभिभावकहरुले नडराई अस्पताल लैजाने सुझाउ पनि तिनले दिएका छन्।
3.
राज्यमा मुख्यमन्त्री ममता बेनर्जीलाई धिक्कार जनाउँछु। मुख्यमन्त्रीले आदिवासी समुदायहरुलाई छल गरेको छ, अन्याय गरेको छ। डायना खोलामा करम विसर्जन कार्यक्रममा आएका केन्द्रिय राज्यमन्त्री जोन बारलाले उक्त मन्तव्य पोखे।
आदिवासी समुदायहरुको चाड़ करम पूजा विसर्जन तराई डुवर्सका विभिन्न क्षेत्रहरुका खोलाहरुमा हर्षोल्लासका साथमा भयो। वानरहाट क्षेत्रको डायना खोलामा भने करम पूजा विसर्जनको निम्ति गत १२ सेप्टेम्बरदेखि नै भव्य कार्यक्रम गर्ने उदेश्य लिएर मञ्च साथै पाण्डाल बनाउने कार्य थालनी भएको थियो तर अचानक राति पुलिस प्रशासनले आएर मञ्च तोड़फोड़ गरिदिएको आरोप लगाउँदै विसर्जनमा आएका आदिवासी समुदायहरुले व्यापक आक्रोश जनाए। उनीहरुले मुख्यमन्त्री ममता बेनर्जीले प्रशासनलाई मोहोरा बनाएर यसप्रकारको घटना गराएको आरोप लगाए। यसरी मञ्च तोड़फोड़ गरिएको खबर पाएर विभिन्न क्षेत्रका करम विसर्जन परिभ्रमणमा आएका क्षेत्रीय सांसद तथा केन्द्रिय राज्यमन्त्री जोन बारलाले ममता सरकारले आदिवासीहरुलाई अवहेलना गरेको आरोप लगाए। प्रशासनको आड़मा करम पूजामा बाधा दिने काम मात्र गरेको छ। मुख्यमन्त्रीले आदिवासीहरुको मञ्च तोड़ेर आदिवासीहरूलाई ठेस पुर्यानएकी छन्। यो कहिले सहन गरिने छैन भनी बारलाले बताए।
यता, डायना खोला करम पूजा आयोजक कमिटीका बिनोद तिग्गाले भने, म कुनै भाजपाको नेता होइन जोन बारला एक भाजपाको नेता हो तर मन्त्री सबैको हो। जोन बारलाको निम्ति तृणमूलको राजनीति हुनसक्छ तर यसरी पण्डाल तोड़िनु भनेको आदिवासी समुदायलाई अन्याय गरेको हो भन्दै तिग्गाले अन्य क्षेत्रहरूमा शान्तिपूर्वक विसर्जन गर्नु दियो केवल डायना खोलामा चाहिँ किन बाधा? भनी प्रश्न गरे। आदिवासी समुदायको एक महान् चाडमा यसरी बाधा दिनु ठिक नरहेको भन्दै यसले गर्दा आदिवासी समुदायलाई ठूलो ठेस लागेको तिनले बताए। विसर्जन गर्न आएका आदिवासी समुदायका महिलाहरुले पनि ममता बेनर्जी अनि प्रशासन विरुद्ध नारा लगाएको देखियो।
एक्कासि माहोल उग्र बन्दै गयो अनि केहीक्षणमा नै मानिसहरु विरोध गर्दै खोलाबाट राष्ट्रिय राजमार्ग ३१-मा आएर पथ अवरोधमा ओर्लिए। एकैक्षणमा माहोल उत्तेजित बनेर गएको कारण बिराट पुलिसबल घटनास्थलमा आइपुगेको थियो। अनेक प्रयास गर्दा पनि अवरोध उठेन, उनीहरुले डुवर्सको अन्य क्षेत्रहरू सरह यहाँ पनि कार्यक्रम गर्न पाउनुपर्ने तर यहाँ बाधा किन दियो भन्दै प्रशासनले जवाब दिनुपर्ने माग गरे। अन्त्यमा घटनास्थलमा जलपाईगडी जिल्ला क्राइम डीएसपी बिक्रमजीत लामा पनि आइपुगे अनि उनले अवरोधकारीहरूसँग कुराकानी गरेर अवरोधलाई उठाउने काम गरे।
4.
कालचिनी खण्डको भारत-भोटाङ सिमान्त गाउँ सेन्ट्रल डुवर्स चियाबारीमा आँखा रोगीहरुको संख्यामा वृद्धिलाई ध्यानमा राख्दै त्यहाँकै सामाजिक संस्था सेन्ट्रल डुवर्स युवा मञ्चको आयोजनामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरियो।
शिविर दुई ठाउँमा क्रमैले हात्तीमारा र पाना डिभिजनमा सम्पन्न गरिएको जनाउँदै सिलगढ़ी ग्रेटर लायन्स आई हस्पिटलको सहयोगितामा सम्पन्न भएको र जम्मा 300 जना मानिसहरुले आँखा जँचाएको मञ्चका सदस्यहरुले बताए।
जम्मा 55 जना आँखा रोगीहरूलाई निःशुल्क चश्मा पनि वितरण गरियो भने मोतियाविन्दु अपरेशनको निम्ति जम्मा 30 जनालाई सिलगढ़ी ग्रेटर लायन्स आई हस्पिटलमा लैजाने भएको छ।
उक्त शिविरमा मुख्य अतिथिको रुपमा समाजसेवी मदन कुमार लामा ढासोको उपस्थिति थियो भने अन्य अतिथिहरुमा मञ्चका सभापति प्रल्हाद विश्वकर्मा, रितेश ठटाल, रविन विश्व, सुकबीर गिरी, समीर प्रधान आदि थिए।
मञ्चका सभापति प्रल्हाद विश्वकर्माले मञ्चले लगातार रूपमा कहिले स्वेच्छिक रक्तदान शिविर त कहिले निःशुल्क आँखा जाँच शिविर लगायत विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको जनाउँदै सेन्ट्रल डुवर्स चियाबारी एउटा अभेक ठाउँ रहेकोले यहाँका बासिन्दाहरुको सुविधालाई ध्यानमा राख्दै मञ्चले उक्त शिविर आयोजन गरेको बताए। शिविर सञ्चालनमा मञ्चका सदस्यहरू क्रमैले सागर राई, गणेश राई र राजा ठकुरीले सहयोग पुऱ्याएका थिए।
5.
तृणमूल कालचिनी ब्लक सभापतिको पदमा पासाङ लामाको नाम अधिकारिक रूपमा घोषणा भएपछि विभिन्न सङ्घ-संस्थाहरुका प्रतिनिधि अनि पार्टी समर्थकहरुले लामालाई सम्वर्द्धना जनाउने क्रम चलिरहेछ। यसैबिच, लामालाई अलिपुरद्वार जिल्ला तृणमूल कार्यालयमा सम्वर्द्धना जनाइयो।
यस अवसरमा पासाङ लामासितै अलिपुरद्वार दुई नम्बर ब्लक सभापति लुईस कुजूरलाई पनि जिल्ला चेयरम्यान मृदुल गोस्वामी र एसजेडीए चेयरम्यान सौरभ चक्रवर्ती एवं अन्यान्य जिल्ला नेतृत्वहरुले सम्वर्द्धना जनाए।
यसैगरी, जयगाउँ मर्चेन्ट्स एसोसिएशनका प्रतिनिधिहरूले पनि लामालाई एउटा कार्यक्रमबिच सम्वर्द्धना जनाए।