- चमर्ची क्षेत्रमा दीर्घ दिनदेखिको पिउने पानीको समस्या समाधान। साढ़े एघार करोड़को लागतमा हुनेभयो पीएचई प्रकल्पको निर्माण। खुशियालीमा मानिसहरूले एकाअर्कालाई बाँड़े मिठाई अनि मुख्यमन्त्री ममता ब्यानर्जीलाई दिए धन्यवाद।
- सुखानी बस्तीको एउटा दोकानमा पस्यो सबुज साथी योजनाका साइकलहरू लादिएको पिक्अप। दोकान क्षतिग्रस्त। ठूलो अप्रिय घटना हुनबाट जोगियो।
- डेङ्गुमाथि सचेतना गर्न भीआरपीहरूलाई लिएर जिल्ला स्वास्थ्य अधिकारीहरूको बैठक। वर्तमान डेंगु ज्वरोको कारण जिल्लामा मानिसहरू बिमारी भइरहेकोले यसलाई रोकथाम गर्नकै लागि उक्त बैठक आयोजन गरिएको एसीएमओएच-को भनाइ।
- मन्त्री बुलुचिक बड़ाइकले चमर्चीका विभिन्न क्षेत्रहरूको परिभ्रमण गर्दै त्यहाँका स्थानीय समस्याहरुको लिए जायजा। बौद्ध गुम्बाको पछिल्लो भागमा सुरक्षित बाउण्ड्री वाल, चमर्ची चियाबारीलाई चेकपोस्टसँग जोड़्ने पुलको निर्माण, पिउने पानीको समस्या आदिमाथि यथाशीघ्र कार्य गरिने मन्त्रीले दिए आश्वासन।
- नवनियुक्त डीपीएससी चेयरम्यान परितोष बर्मनले शुरु गरे रेजिस्टर परिसेवा। शिक्षक-शिक्षिकाहरूको सुविधा हेतु रेजिस्टर परिसेवा शुरू गरेको वर्मनको भनाइ।
अब खबर विस्तारमा………
1.
चमर्ची क्षेत्रमा दीर्घ दिनदेखिको पिउने पानीको समस्या अहिले आएर समाधान हुन गइरहेछ। राज्य सरकारद्वारा पीएचई प्रकल्पको निम्ति अनुमोदन गरिएको छ। अब चमर्ची क्षेत्रमा पनि पिउने पानीको समस्या समाधान हुनेभएकोमा स्थानीय मानिसहरूले खुशियाली मनाए। खुशीसितै उनीहरूले एकाअर्कालाई मिठाई पनि वितरण गरे।
यसैबिच, चमर्ची पञ्चायत प्रधान, उप-प्रधान, तृणमूल कंग्रेस पार्टी नेतृत्व एवं कार्यकर्ताहरूले राज्य सरकार एवं सम्बन्धित मन्त्रीप्रति कृतज्ञता प्रकट गरे।
अर्कोतिर, तृणमूल कंग्रेस जलपाइगढ़ी जिल्ला सचिव सन्दिप छेत्रीले आज चमर्चीवासीको निम्ति ऐतिहासिक दिन भएको बताए। उनले साढ़े 11 करोड़को लागतमा पीएचई प्रकल्प निर्माण हुन गइरहेको पनि तिनले बताए। यसको निम्ति राज्यका मन्त्री, पार्टीका क्षेत्रीय नेतृत्वगण लगायत सबैलाई धन्यवाद पनि तिनले दिए।
उल्लेखनीय छ, चमर्ची क्षेत्रमा पिउने पानीको समस्या धेरै वर्ष अघिदेखिको हो।
2.
सबुज साथी योजनाका साइकलहरू लादिएको एउटा पिक्अप भ्यान नियन्त्रण हराएर सड़क किनारमा स्थित एउटा दोकानमा पस्न पुग्यो। यस घटनालाई लिएर क्षेत्रमा निकै सनसनी मच्चियो। घटना आज बिहीवार दिउँसो नगरकट्टा थाना नजीक सुखानी बस्तीमा भएको हो।
स्थानीय मानिसहरूले जनाए अनुसार ब्लक अफिसबाट सबुज साथी योजनाका साइकलहरू लिएर उक्त पिक्अप भ्यान स्थानीय एउटा स्कूलमा पुऱ्याउन गइरहेको थियो। अचानक सड़कमा पिक्अप भ्यानका चालकले नियन्त्रण हराउँदा स्थानीय सोमनाथ बड़वा नामक व्यक्तिको दोकानमा पस्नपुग्यो। जसले गर्दा दोकान क्षतिग्रस्त भयो। तथापि, यस घटनामा कोही घाइते भने भएन। घटनापछि क्रेनको सहयोगमा पिक्अप भ्यानलाई दोकानबाट बाहिर निकालियो।
3.
कोरोना महामारीको दर कम हुँदै गए पनि अहिले डेंगु ज्वरोसितै टाइफाइड र मलेरियाको प्रकोप बढ़िरहेकोले डेङ्गु सचेतना अन्तर्गत डेङ्गु रोकथामको निम्ति जिल्ला स्वास्थ्य विभागको तयारी चलिरहेको छ। यसैबिच, आज बिहीवार कालचिनी बीडीओ कार्यालयको एमजीएनआरजीएस सभागृहमा कालचिनी ब्लकभरिका भिलेज रिसोर्स पर्सन्स भीआरपीहरूलाई लिएर अलिपुरद्वार एसीएमओएच लगायत कालचिनी बीडीओ प्रशान्त बर्मन, कालचिनी बीएमओएच डा. सुभाषचन्द्र कर्मकार, बीआईओ शुभजीत दास अनि अधिकारीहरूबिच एउटा सभा बस्यो।
सभामा वर्तमान डेङ्गु परिस्थितिलाई लिएर ब्लकमा कार्यरत सम्पूर्ण भीआरपीहरूलाई गाउँ-गाउँ गई मानिसहरुलाई सचेतना गर्नुका साथै सर्वे गर्ने आदेश दिइयो।
वर्तमान डेंगु ज्वरोको कारण जिल्लामा मानिसहरू विमार भइरहेकोले यसलाई रोकथाम गर्नकै लागि भीआरपीहरुलाई लिएर बैठक गरिएको एसीएमओएचले बताए।
4.
पश्चिम बङ्गाल सरकारको आदिवासी कल्याण अनि विकास विभागका राज्यमन्त्री बुलुचिक बड़ाइक चमर्चीको विभिन्न क्षेत्रहरूको परिभ्रमण गर्दै त्यहाँका स्थानीय समस्याहरुको जायजा लिने काम गरे। उनले चमर्चीस्थित चुनाभट्टीको टाशी छोइलिङ बौद्ध गुम्बासहित चमर्ची चियाबारीको कब्रस्तानको पनि परिदर्शन गरे। मन्त्री बड़ाइकलाई चुनाभट्टी बौद्ध गुम्बा सञ्चालन कमिटीद्वारा अभिनन्दन जनाउनुका साथै वर्षाको कारण खोलाको पानीले गुम्बाको वरिपरिका भागहरू काटेर लगेको अवगत गराउँदै सुरक्षित बाउण्ड्री वाल गरिदिने माग गरे।
यता, क्षेत्रका विविध समस्याहरुको जानकारी लिन आफू चमर्ची आएको मन्त्रीले बताए। गुम्बाको पछिल्लो भाग खोलाको पानीको काटेर लगेको कारण स्थिति भयवाह बन्दै गएको छ। गुम्बालाई बचाउनको निम्ति पछिल्लो भागमा सुरक्षित देवाल गर्न जरुरी रहेकोले सिँचाइ विभाग अनि मुख्यमन्त्रीलाई यसबारे आफूले जानकारी दिँदै समाधान गर्ने तिनले बताए। आफ्नो विभागको तर्फबाट विभिन्न योजनाहरु रहेको, जसमा विद्यार्थीहरुलाई छात्रवृत्ति, जय जोहर पेन्सन, सबुज साथी जस्ता योजनाहरूले मानिसहरूलाई सयगोग गरिरहेको पनि तिनले बताए।
चमर्ची चियाबारीलाई चेकपोस्टसँग जोड़्ने एकमात्र पुल क्षतिग्रस्त बनेकोले पुल निर्माणको निम्ति सम्बन्धित विभागका अधिकारी अनि जिलाशासकसँग कुराकानी गरी शीघ्र निर्माण कार्य थालिने मन्त्रीले बताए। यसका साथै क्षेत्रका मानिसहरू पानीको समस्याले ग्रसित बनेकोले यसको निम्ति पनि आफू लागिपरेको तिनले बताए। केही महिनापछि नै यहाँ पानीको समस्या समाधान हुने तिनले बताए।
मन्त्री बड़ाइकसित वानरहाट ब्लक तृणमूल कंग्रेसका उपाध्यक्षद्वय सागर गुरुङ, सुजु छेत्री, चमर्ची तृणमूल अञ्चल सभापति प्रतिमा मिञ्ज, चमर्ची अञ्चल सचिव नीरज छेत्री लगायत अन्यहरू उपस्थिति थियो।
5.
हालै मात्र राज्य सरकारद्वारा अलिपुरद्वार जिल्लाको डीपीएससी चेयरम्यानको पदमा नियुक्त भएका परितोष बर्मनले कार्यालयको अभिभारा सम्हाल्दै डीपीएससी कार्यालयमा शिक्षक-शिक्षिकहरुको गुनासो थाहा पाउनलाई रेजिस्टर परिसेवा चालू गरेका छन्।
नवनियुक्त डीपीएससी चेयरम्यान परितोष बर्मनले धेरै टाढ़ा औ दुर्गम क्षेत्रहरुबाट शिक्षक-शिक्षिकाहरु समय खर्चेर डीपीएससी कार्यालय आइपुग्दा आफूलाई कोही बेला नभेट्न पनि सक्छन् र आफ्ना कुराहरु राख्न नपाई फर्किएर जान बाध्य हुने भएकोले नै ती शिक्षक शिक्षिकाहरुले रेजिस्टरमा आफ्नो परिचय, स्कूलको नाउँ अनि गुनासोहरु आफ्नो मोबाइल नम्बरसहित छोड़ेर गएपछि उनिहरुसित फोन मार्फत् कुराकानी गरेर समस्या बुझ्न र त्यसको समाधान गर्नसकिने हुनाले नै यो रेजिस्टर परिसेवा चालू गरिएको तिनले बताए।