• Sat. May 10th, 2025

डुवर्स एक्सप्रेस: डुवर्सका मुख्य पाँच खबर

Byadmin

Sep 21, 2021

1.
खोलामा काम गरेर खटिखाने श्रमिकहरूद्वारा पथ अवरोध। चमर्ची रिभर बेड वेल्फेयर एसोसिएसनको ब्यानरमा श्रमिकहरूद्वारा गरिएको थियो अवरोध। कुराकानी र आश्वासनपछि हटाइयो अवरोध।

डुवर्स क्षेत्रका आधिकांश मानिसहरु चियाबारी अनि खोलाको काममा निर्भर छन्। तर केही महिनादेखि मनसुनको कारणले खोलाका कामहरू बन्द छन्, जसले गर्दा खोलामा काम गरेर खटिखाने श्रमिकहरुको अवस्था दिन प्रतिदिन सोचनीय बन्दै गइरहेछ। यसैलाई केन्द्र गर्दै चाँडोभन्दा चाँडो खोलामा ठुङ्गा-बलुवाको काम खोलिनुपर्ने साथै रोयल्टी खोलिनुपर्ने माग गर्द सोमबार बिहान ९ बजीदेखि यस कार्यसँग जोड़िएका मानिसहरूले चमर्ची बजारस्थित भारत-भोटाङलाई जोड्ने सार्क रोडमा पथ अवरोध गरे।
स्मरण रहोस्, केही महीनादेखि मनसुनको कारण खोला-जङ्गलहरू बन्द थिए। पूर्व निर्देशिका अनुसार १६ सेप्टेम्बरदेखि खोलाका कार्यहरु खोलिने रहेको थियो तर राज्य सरकाराद्वारा ३० सेप्टेम्बरसम्म बन्द राखिने भएको छ। यसले गर्दा खोलाको काममाथि निर्भर रहेका मानिसहरु अझ समस्यामा परेका छन्। फलस्वरूप सोमबार बिहानै चमर्ची रिभर बेड वेल्फेयर एसोसिएसनको ब्यानरमा श्रमिकहरू सड़कमा ट्र्याक्टर राखेर पथ अवरोधमा ओर्लिए। उनीहरूको भनाइ थियो, यस क्षेत्रका मानिसहरु खोलाको काममा नै निर्भर छन्। खोला बन्द भएको कारणले कुनै कामहरू भएको छैन। दुइछाक जुटाउन पनि हम्मेहम्मे परिरहेको बेला बाध्य भएर आफूहरूले के गर्नु भनी सरकारसमक्ष प्रश्न गर्दै अवरोधमा आउनुपरेको गुनासो पोखे।
संगठनका सचिव निरज छेत्रीले लकडाउनको कारण भोटाङ गेट पनि बन्द छ भन्दै चार महिनादेखि यसरी खोलामा काम बन्द हुँदा श्रमिकहरु कसरी बाँचेका छ्न्, त्यो कसले बुझिदिने भनी प्रश्न गरे। राज्य सरकारले यसबारे उचित पहल गरेर यथाशीघ्र खोलाको कामहरू खोलिदिनुपर्ने तिनले माग गरे।
अवरोधको खबर पाउनासाथ चमर्ची आउट पोस्टका ओसी सैकत भद्रा पुलिस वाहिनीका साथ अवरोधस्थलमा पुगेका थिए। उनले अवरोधकारीहरूसँग कुराकानी गर्दै आफू सकेसम्म यस विषयलाई माथिल्लो तहसम्म पुऱ्याउने आश्वासन दिएर सम्बन्धित निकायसमक्ष फोन गरेपछि दुइ घण्टापछि अवरोध हटाइयो।

2.
करेन्ट लागेर निमती डिपो राभा बस्ती निवासी एकजना युवकको मृत्यु। स्टीलको खाटमा राखिएको एक्सटेन्सन तारबाट बिजुली सर्ट भएर नै युवकको मृत्यु हुनपुगेको गाउँलेहरूको भनाइ।

सोमवार अपरान्ह समय नुहाइ-धुवाइ गरेर आफ्नो कोठामा पसी लुगा लगाइरहेको समय अचानक विद्युतको नाङ्गो तारसित स्टीलको खाट स्पर्श हुँदा उक्त खाटमा बसेर लुगा फेर्ने क्रममा अचानक करेन्ट लागेर एकजना युवकको मृत्यु भएको घटना प्रकाशमा आएको छ।
मृतक व्यक्तिको परिचय निमती डिपो राभा बस्ती निवासी 29 वर्षीय मुकेश राभा -को रूपमा चिन्हित भएको तथा शवलाई कालचिनी पुलिसले उद्धार गरेर ल्याएपछि पोस्टमोर्टमको निम्ति अलिपुरद्वार पठाएको पुलिस सूत्रले जनायो।
स्टीलको खाटमा राखिएको एक्सटेन्सन तारबाट बिजुली सर्ट भएर नै मुकेश राभाको मृत्यु भएको गाउँलेहरूको भनाइ छ।

3.
नदीबाट अवैद्य खनन गरेर बालुवा ओसारेकोमा ट्र्याक्टरसहित चालक पक्राउ। चालकलाई पठाइयो अलिपुरद्वार जिल्ला अदालत, ट्र्याक्टर निमती आउटपोस्टमा।

राज्य सरकारले प्रत्येक नदी-नालाहरुबाट अवैद्य खनन गरेर बालुवा र ढुङ्गा ओसार-पसार गर्ने वाहन अनि चालकहरु विरुद्ध ससक्त कार्वाही गर्ने आदेश दिएपछि अहिले पुलिसले डुवर्सका नदी-नाला तथा झोड़ाहरूमा अभियान चलाइरहेको छ। यसै अभियान अन्तर्गत कालचिनी नदी-झोड़ाबाट अवैद्य रुपमा बालुवा ओसार्दै गरेको थाहा पाएर कालचिनी थाना अन्तर्गत निमती आउटपोस्टको पुलिसले एउटा ट्र्याक्टरसितै चालकलाई पक्राउ गऱ्यो।
पक्रा परेका चालकलाई अलिपुरद्वार जिल्ला अदालतमा पठाइएको थाना सूत्रले जनाएको छ भने ट्र्याक्टरलाई निमती आउटपोस्टमा जफ्त गरेर राखिएको छ।

4.
15 हजार मूल्य बराबरको ट्याबलेट र कफ सीरपसहित युवक पक्राउ। आरोपीले ड्रग्स धन्धा गर्दै आइरहेको स्वीकार गरेको पुलिसले भनाइ।

कालचिनी पुलिसले एउटा विशेष अभियान चलाएर एकजना अजय सार्की उमेर 23 भाटपाड़ा बी. निवासीलाई पक्राउ गऱ्यो। उक्त युवकबाट प्रायः 15 हजार मूल्य बराबरको अवैद्य कफ सीरप र नशालु ट्याबलेटको फाइल पुलिसले बरामद गरेको थाना प्रभारी अनिर्बान मजुमदारले बताए। आरोपी युवकले ड्रग्स धन्धा गर्दै आइरहेको स्वीकार गरेको पुलिसले बतायो।
आज ड्रग्स एन्ड कस्मेटिक एक्ट अन्तर्गत आरोपीलाई अलिपुरद्वार जिल्ला अदालतमा पठाइएको अनि अदालतमा उक्त युवकलाई पुलिस रिमान्डमा ल्याउन निवेदन गरिने थाना प्रभारीले जनाए।

5.
अलिपुरद्वार थाना एन्टी क्राइम टीमले सक्रिय पहल। एउटा टोक्केसहित एकजना व्यक्ति पक्राउ। पक्रा परेको व्यक्ति विरुद्ध वन्यजीव तश्करीको मामिला दर्ता गरेको अतिरिक्त पुलिस अधीक्षक अम्लान घोषले दिए जानकारी।

गोप्य सूचनाको आधारमा अलिपुरद्वार थानाको एन्टी क्राइम टीमले अलिपुरद्वार नगरपालिका क्षेत्रको माया टकिज संलग्न 18 नम्बर वार्डमा एउटा विशेष अभियान चलाएर एउटा घरबाट एउटा टोक्के बरामद गर्नुका साथै यसमा संलग्न एकजना अबीरलाल दत्ता नामक व्यक्तिलाई पनि पक्राउ गऱ्यो। पक्रा परेको व्यक्ति विरुद्ध वन्यजीव तश्करीको मामिला दर्ता गरेको पुलिसले बताएको छ।
अलिपुरद्वार जिल्ला अतिरिक्त पुलिस अधीक्षक अम्लान घोषले उक्त कुराको जानकारी गराए। जानकारी दिने क्रममा एएसपी घोषसित एसडीपीओ देवाशिष चक्रवर्ती र अलिपुरद्वार थाना आईसी अनिन्द्या भट्टाचार्य विशेष रूपले उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *