गणेश शंकर गोरामुमो लेबोङ भेल्ली समष्टि अध्यक्ष पदमा चयनीत। पार्टी अध्यक्ष मन घिसिङले बधाईका साथ दलीय सिद्धान्त अनि अनुशासनमा रहेर कार्य गर्ने गणेश शंकरलाई दिए निर्देश। गोरामुमो लेबोङ भेल्ली समष्टिको सांगठनिक सभा केन्द्रिय कार्यालय दार्जीलिङमा बस्यो। गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष एमजी सुब्बा, महासचिव सन्दिप लिम्बु, गोरानामो दार्जीलिङ ब्राञ्च कमिटीका अध्यक्षा बसुन्धारा प्रधान साथै समष्टिका सम्पूर्ण शाखा-प्रशाखाका प्रतिनिधिवर्गको उपस्थितिमा व्यापक छलफलपछि गणेश शंकरलाई लेबोङ भेल्ली समष्टि अध्यक्ष पदमा सर्वसम्मतिद्वारा चयन गरियो। सभापछि विज्ञप्ति जारी गर्दै समष्टि महासचिव सरोज तामङले भने, समष्टिमा रिक्त रहेको अध्यक्ष पदको निम्ति समष्टिका शाखा-प्रशाखाहरूमा व्यापक छलफलपछि गणेश शंकरलाई समष्टि अध्यक्ष पदमा चयन गरेका हौं। उनी एक असल व्यक्ति साथै संस्थापक अध्यक्ष सुवास घिसिङको सिद्धान्तलाई शिरोपर गरेर पार्टीलाई बलियो बनाउनको निम्ति सदेव लागिपरेका छन् भन्दै तामङले उनको योगदानको कदर गर्दै उनलाई यो पदमा मनोनीत गरिएको बताए। यसै क्रममा नवनिर्वाचित समष्टि अध्यक्ष गणेश शंकर साथै समष्टिका प्रतिनिधिवर्गले अध्यक्ष मन घिसिङलाई भेटघाट गरी सांगठनिक गतिविधिमाथि चर्चा गरे। अध्यक्ष मन घिसिङले गणेश शंकरलाई खदा लगाई बधाई दिँदै दलीय सिद्धान्त अनि अनुशासनमा रहेर कार्य गर्ने निर्देश दिए। समष्टिमा सांगठनिक बिस्तार सबै प्रतिनिधिवर्गसँग सहकार्य गरेर कार्य गर्ने सुझाउ पनि दिए।