पूर्व सिक्किमको सिङ्ताम बजारमा निर्मित आराम गृह अनि पुलिस सहायक बूथको उदघाटन बुधबार छठ पर्वको शुभ अवसरमा क्षेत्र विधायक एवं मन्त्री डा. एमके शर्माद्वारा गरियो। सिङ्तामस्थित इन्द्रेणी पुल नजिक स्थापना गरिएको पुलिस सहायक बूथ अनि आराम गृह लायन्स क्लब अफ् सिङतामको सहयोगमा निर्माण गरिएको हो। यस अवसरमा मन्त्री डा. एमके शर्मा मुख्य अतिथिका रूपमा उपस्थित थिए भने उनका साथमा मुख्यमन्त्रीका सल्लाहकार रोहितराज महाराज, आरडीडी विभागकी अध्यक्ष सुनिता शर्मा, सिङताम नगर पञ्चायतका अध्यक्ष सुरेश तामङ, पार्षदगण लगायत अन्यहरू सहभागी थिए। यसअघि मन्त्री लगायत अतिथिगणले छठ पूजामा सहभागिता जनाएका थिए। सिङ्तामस्थित टिस्टा नदीको किनारमा छठ पूजा भव्य रूपमा मनाइयो। यसैबिच, मन्त्री डा. एमके शर्मा लगायत अन्य अतिथिगणलाई पूजा आयोजक समितिको पक्षबाट स्मृति-चिन्ह प्रदान गरी सम्मान जनाइयो।