अनलाइन रमाइलो जोक्स प्रतियोगिता सिजन 1 -का विजेता बने दार्जीलिङ गाड़ीधुरा निवासी हास्य कलाकार अनिल राई। कम्पिटिशनमा निशल अर्याल दोस्रो भए भने तेस्रो स्थान ओगट्न सफल बने सुलभ भट्टराई।
विगत सात महिना अघिदेखि ऋदम स्क्रिन क्रिएशन अमेरिकाबाट आयोजना गरिएको अनलाइन रमाइलो जोक्स कम्पिटिशन सिजन 1 -को ग्राण्ड फिनाले अमेरिका, नेपालमा अनलाइन रूपमा नै सम्पन्न भयो। जसको रिजल्टको घोषणा अनि पुरुस्कार वितरण कार्यक्रम नेपालको काठमाडौंस्थित हिमालयन रेस्ट्रो सुकेधारामा गरियो।
राधिका कँड़ेलले सञ्चालन गरेको कार्यक्रममा मुख्य अतिथि सङ्गीतकार-गायक खेम रिजाल अमेरिकाबाट, विशिष्ट अतिथि हास्य कलाकार राजा राजेन्द्र पौड़ेल लगायत अन्य व्यक्तित्वहरूको उपस्थिति थियो। उक्त अनलाइन रमाइलो जोक्स् कम्पिटिशन सिजन 1- को ग्राण्ड फिनालेमा दार्जीलिङका गाड़ीधुरा निवासी हास्य कलाकार अनिल राईले नेपाली 3 लाख रुपियाँसहित आकर्षक पारितोषिक, मेडल, प्रमाण-पत्र हत्याउँदै कम्पिटिशन सिजन 1-को विजेता बन्न सफल भए। कम्पिटिशनमा निशल अर्याल दोस्रो र सुलभ भट्टराई तेस्रो स्थानमा आउन सफल बने।
कार्यक्रमको निर्णायकहरूमा नेपाली चलचित्र जगतका हास्य कलाकार बुद्धि तामङ (हैट), सिक्किमका हास्य कलाकार दिलीप गुरुङ (सिक्किमे हमजाएगा) अनि अमेरिकाबाट नेपाली कलाकार भानु तिवारी रहेका थिए।